भैरहवा । रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको अध्यक्ष आकाश पौडेल निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न क्लबको तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा वर्ष २०२४–२०२५ का लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
पौडेल लामो समयदेखि विभिन्न समाजिक क्षेत्रमा क्रियाशील छन् । उनले विभिन्न संघसंस्थामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । जसले गर्दा उनलाई रोट्रयाक्ट क्लबको पनि नेतृत्व गर्ने अवसर मिलेको हो । निर्वाचन समितिका अनुसार क्लबको उपाध्यक्षहरुमा अर्जुन प्रधान, रेश्मीराज पंगेनी, आशिष पन्थी, सचिवमा निर्वीक ढुंगाना, कोषाध्यक्षमा अंकित कान्दु र सहसचिवमा सचिन गुरुङ सर्वसम्मत चयन भएका छन् ।
यस्तै, क्लबका सदस्यहरुमा विज्रेश बानियाँ, ईश्वर हिताङ, राज वर्नवाल, सुभम बानियाँ, सोनु साह, रोशनलाल गुप्ता, शंकर बस्याल चयन भएका छन् । नयाँ निर्वाचित कार्यसमितिको भैरहवामा एक कार्यक्रमबीच पदस्थापन पनि भएको छ । अध्यक्ष चयन भए पछि पौडेलले आफ्नो एक वर्षको कार्यकाल उत्कृष्ट बनाउने प्रयास गर्ने बताए ।
‘मैले क्लबका सबै पदाधिकारी र सदस्यहरुलाई साथमा लिएर सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छु’, उनले भने, ‘एक वर्षसम्म योजना बनाएर काम गर्नेछौं । यसमा सबैको सकारात्मक साथ हुने मेरो विश्वास छ ।’ उनले रक्तदान, खाद्यान्न सहयोग, गरिब तथा विपन्नलाई आवश्यकताका आधार सहयोग गरिने जनाए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहम्मद खाँ लगायत अतिथिहरुले पौडेल नेतृत्वको क्लबले भैरहवा क्षेत्रमा नमूनायोग्य सामाजिक काम गर्ने विश्वास व्यक्त गरे । युवाहरुले समाजलाई सकारात्मक मार्गमा डोर्याउन जरुरी रहेको बताउँदै यस्ता क्लबले युवाहरुलाई संगठित गरी नेतृत्व र क्षमता विकासमा सहयोग पुर्याउने उल्लेख गरे ।