कपिलवस्तु । पच्च्सि बौद्ध भिक्षुले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि कपिलवस्तुको निग्रोधाराम (कुदान) सम्म ‘शान्ति पैदलयात्रा’ गरेका छन् । थाइल्यान्डबाट आएका भिक्षुले विश्व शान्तिको कामना गर्दै शान्तिको कामना गरेका हुन् । रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोतको नेतृत्वमा भिक्षुहरूले शान्तिको सन्देश प्रवाह गर्दै पैदलयात्रा गरेका हुन् । विश्वमा शान्ति, सद्भाव र आपसी भाइचारा कायम गर्न यात्राको आयोजना गरिएको प्रमुख भिक्षु सुपोतले बताउनुभयो ।
निग्रोधाराम बौद्ध धर्मावलम्बीका लागि ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल हो । भगवान् गौतमबुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु आउँदा आफ्ना छोरा राहुललाई पहिलोपटक भेटेको स्थलका रूपमा निग्रोधारामलाई लिने गरिन्छ । बुद्धका शान्ति, अहिंसा, करुणा र मैत्रीका सन्देशलाई विश्वभर फैलाउन गरिएको पैदलयात्राले बौद्ध पर्यटन प्रवर्द्धन तथा लुम्बिनी र कपिलवस्तुबीचको धार्मिक सम्बन्धलाई थप उजागर गर्ने विश्वास भिक्षुहरुले लिएका छन् ।