खुनुवा शोहरतगढ़ । भारत–नेपाल सीमाको खुनुवा नाकाबाट भारतबाट नेपालतर्फ आउन खोज्दा भारतीय सुरक्षा टोलीले तीन लाख ४७ हजार पाँच सय भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले कार जाँचका क्रममा पाँच सय दरका ६९५ थान भारतीय नोट बरामद गरेको हो । नियन्त्रणमा लिइएका व्यक्तिहरूमा बाराबंकीको नवाबगंजका कार चालक जबिउल्लाह र गोंडाको नवाबगंजका ट्रक मालिक सिमरजीत सिंह रहेका छन् ।
सोधपुछका क्रममा सिमरजीत सिंहले नेपालमा रहेका आफ्ना ट्रकका चालकलाई इन्धन तथा ढुवानी खर्च उपलब्ध गराउन रकम लैजान खोजेको र भन्सार प्रक्रियामा प्राविधिक समस्या आएपछि फर्कने क्रममा जाँचमा परेको बयान दिनुभएको छ । बरामद रकम, कार र दुवै जनालाई आवश्यक कारबाहीका लागि भारतको खुनुवास्थित भन्सार कार्यालयमा बुझाइएको तथा थप कानुनी प्रक्रियाका लागि विवरण लखनउस्थित उच्च भन्सार अधिकारीसमक्ष पठाइएको भन्सार अधीक्षक आरआर गोकलानीले जानकारी दिनुभयो ।