सुनवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा भए पनि निर्वाचनपछि विकास र जनताको हितका लागि एक ठाउँमा उभिनुपर्ने बताएका छन् । गाउँ, पालिका, प्रदेश हुँदै सिंगो मुलुकको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताए ।
नवलपरासीको सुनवल नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजनीतिक दलहरू निर्वाचनका बेला आ–आफ्ना एजेण्डा र नारासहित प्रतिस्पर्धामा उत्रिनु स्वाभाविक भए पनि निर्वाचनपछि विकासका काममा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।‘गाउँ बनाउन, पालिका बनाउन र सिंगो मुलुक बनाउन राजनीतिक दलहरू एक ठाउँमा उभिन जरुरी छ’,उनले भने ।
मुख्यमन्त्री आचार्यले पछिल्लो ३५ वर्षमा मुलुकमा विकासका क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको बताए । हिजो धुलो उड्ने सडक रहेका ठाउँमा अहिले पक्की सडक बनेको, घरघरमा खानेपानी पुगेको र विद्यालयको अवस्थामा सुधार आएको उल्लेख गर्दै उहाँले विकासका उपलब्धिलाई पनि मूल्यांकन गर्नुपर्ने बताए । सीमित स्रोत र साधनका कारण जनताको अपेक्षाअनुसार सबै काम गर्न नसकिए पनि विकास निर्माणका काम नभएका होइनन्, यस अवधिमा धेरै परिवर्तन भएको उनको भनाइ थियो ।‘जनतासँग धोका दिँदैनौँ । उपलब्ध सीमित स्रोत र साधनको सदुपयोग गर्दै प्राथमिकता निर्धारण गरेका छौँ । त्यसैलाई आधार मानेर आगामी दिनमा पनि काम अघि बढाउनेछौँ’, मुख्यमन्त्री आचार्यले भने ।
प्रदेश सरकारले आफ्नो जिम्मेवारी र प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढाइरहेको बताउँदै उहाँले सुनवल नगरपालिकालाई हेर्ने प्रदेश सरकारको दृष्टिकोण सकारात्मक रहेको उल्लेख गरे । सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन । नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि भ्याटसहित ३० करोड ४४ लाख १२ हजार १२ रुपैयाँ ५३ पैसा लागत अनुमान गरिएको थियो । साढे तीन तलाको भवनमा ७५ वटा कोठा, एउटा बहुउद्देश्यीय सभाहल र चारवटा बैठक कक्ष रहेका छन् । भवनको क्षेत्रफल १ हजार ५७६ दशमलव ८५ वर्गमिटर रहेको छ ।
भवन निर्माणका लागि २०७५ फागुन २६ गते तत्कालीन नगरप्रमुख भीमबहादुर थापाको अध्यक्षता तथा तत्कालीन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीबाट शिलान्यास गरिएको थियो । २०७५ चैत ११ गते बहुवर्षीय योजनाअन्तर्गत ठेक्का प्रक्रिया अघि बढाइएको भवन निर्माणका लागि २०७६ असार १२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार ३६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवनको निर्माण कार्य २०८० माघ २३ गते सम्पन्न भएको हो ।
भवन निर्माणमा नेपाल सरकारको अर्थ मन्त्रालयबाट ४० प्रतिशत समपूरक अनुदान र सुनवल नगरपालिकाको ६० प्रतिशत लगानी रहेको छ । भवन भूकम्प प्रतिरोधी, वातावरणमैत्री, अग्नि नियन्त्रण प्रणाली तथा अपांगमैत्री संरचनासहित निर्माण गरिएको भए पनि लिफ्ट जडानको काम भने बाँकी रहेको छ । भवन निर्माणका लागि स्वर्गीय मुरारी शर्माको स्मृतिमा उनका छोराहरू ठाकुरप्रसाद शर्मा, किशोरप्रसाद शर्मा, अशोक शर्मा र लोकेश शर्माले चार कठ्ठा जग्गा दान गरेका थिए । प्रशासकीय भवन निर्माण स्थल चार बिघा क्षेत्रफलमा रहेको छ ।