पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३ सराईस्थित दिव्यज्योती माध्यामिक विद्यालयको सभाहलमा जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पा र दिव्यज्योती मा.वि. को सहकार्यमा आयोजित यस कार्यक्रममा लागुऔषध दुर्व्यसनी न्यूनीकरण र साईबर अपराधबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका जनप्रतिनिधिहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले लागुऔषध दुर्व्यसनी न्यूनीकरणका सम्बन्धमा विस्तृत प्रस्तुति दिनुभएको थियो । उहाँले लागुऔषधका नकारात्मक असर, यसबाट बच्ने उपायहरू र समाजमा यसले पार्ने प्रभावबारे प्रकाश पार्नुभयो । युवा वर्गलाई लक्षित गरी उहाँले लागुऔषधको दलदलबाट टाढा रहन र सचेत रहन आग्रह गर्नुभयो ।
त्यसैगरी, प्रहरी सहायक निरीक्षक रोशनी नेपालीले साईबर अपराध सम्बन्धी सचेतना प्रदान गर्नुभयो । उहाँले बढ्दो डिजिटल युगमा साईबर अपराधका विभिन्न स्वरूपहरू, जस्तै – अनलाइन ठगी, ह्याकिङ, व्यक्तिगत डाटाको दुरुपयोग, र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे जानकारी दिनुभयो । साईबर अपराधबाट कसरी बच्ने र यस्तो घटना भएमा कहाँ र कसरी रिपोर्ट गर्ने भन्ने विषयमा पनि उहाँले सहभागीहरूलाई मार्गदर्शन गर्नुभयो ।
कार्यक्रमका आयोजकहरूले यस्ता सचेतनामूलक कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । विशेषगरी युवा वर्गलाई लागुऔषध दुर्व्यसनी र साईबर अपराध जस्ता समसामयिक चुनौतीहरूबाट बचाउन यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण रहने बताइएको छ ।