पर्सा । प्रहरीले ११४ केजी २५ ग्राम लागुऔषध गाँजा बोकेको सवारीसाधनसहित एक जनालाई पक्राउ गरेको छ । गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा आज इलाका प्रहरी कार्यालय पोखरिया पर्सा र प्रहरी चौकी धोरेबाट खटिएको संयुक्त प्रहरी टोलीले धादिङका साजन चेपाङलाई पक्राउ गरेको हो ।
पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरेस्थित तिलाइपुलबाट धोरेतर्फ आइरहेको एक निशान कारलाई रोकी जाँच गर्दा डिक्कीभित्र लुकाइछिपाइ राखेको लागुऔषध गाँजा फेलापरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । त्यसैगरी, प्रहरीले तार चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ
प्रहरीले जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका पर्साका अखिलेश साह तेलीलाई पक्राउ गरेको छ । अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका साहलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले आज उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–४ का राजवा भन्ने अखिलेश साह तेली रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो । जबर्जस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतले उनलाई १० वर्षको कैद सजाय सुनाएको थियो ।