भैरहवा । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पिपलबोटस्थित संयुक्त चेकपोस्टबाट अवैधानिक रूपमा भारतीय रुपैयाँ र बैंकको ब्ल्याङ्क चेक ल्याउँदै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाका सशस्त्र प्रहरी नायब निरीक्षक गणेशबहादुर रोका मगर र इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी सहायक निरीक्षक विमल पौडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५३ डिजे २६७१ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, महाराजगञ्ज जिल्ला नौतनवाँ बस्ने २६ वर्षका विशाल यादव रहेका छन् । सवारी साधन तथा चालकलाई सुरक्षा जाँच गर्ने क्रममा उनले मोटरसाइकलको हेलमेटभित्र लुकाएर ल्याउँदै गरेको सात लाख भारतीय रुपैयाँ (रु ११ लाख २० हजार नेपाली) र सेन्ट्रल बैंक अफ इन्डियाका दुई थान ब्ल्याङ्क चेक बरामद गरिएको छ ।
नियन्त्रणमा लिइएका यादव र बरामद सामानलाई थप अनुसन्धानका लागि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा डण्डा रुपन्देहीमा राखी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ । गुल्ममा नयाँ नेतृत्व आएपछि सीमा क्षेत्रमा चोरी, पैठारी तथा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।