रौतहट । रौतहटको गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्याङ्की नजिक अज्ञात समूहको गोली प्रहारबाट स्थानीय २८ वर्षीय राकेश यादव गम्भीर घाइते भएका छन् । गएराति सवा ९ बजेको समयमा यादवमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेका छन् ।
उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याइएकोमा थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ । घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीन वटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ । यादवमाथि कसले र किन गोली चलाएको भन्ने खुल्न सकेको छैन भने घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।