काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर दोस्रो साता हुने सम्भावित भारत भ्रमणको तयारी दुवै देशमा तीव्र पारिएको छ । मङ्सिर ७, ८ र ९ गतेलाई सम्भावित मिति मानेर गृहकार्य भइरहेको र अनुकूलता अनुसार छिट्टै औपचारिक मिति सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको तयारीबारे छलफल गर्न भारतका विदेश सचिव बुधबार काठमाडौँ आउँदै हुनुहुन्छ भने नेपालका लागि नवनियुक्त भारतीय राजदूत पनि कार्यभार समाल्न आइसक्नुभएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भ्रमणलाई औपचारिकतामा मात्र सीमित नराखी दीर्घकालीन विकास साझेदारी, वित्तीय प्याकेज, व्यापार तथा पारवहन, सम्पर्क एवं हवाई सञ्जाल विस्तार, ऊर्जा, र विपत्पछिको पुनर्निर्माणमा केन्द्रित गराउने तयारी छ । भ्रमणका क्रममा दुवै देशको साझेदारीमा काभ्रेको पनौतीमा निर्माण भएको प्रहरी एकेडेमीलगायतका आयोजनाहरूको संयुक्त रूपमा उद्घाटन गर्नेसमेत सम्भावना रहेको छ ।