काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको प्रमुख आतिथ्यमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ ले आजदेखि आफ्नो औपचारिक सेवा प्रारम्भ गरेको छ। नेपाल सरकारको गत असोज २३ गतेको निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम उक्त केन्द्रको स्थापना गरिएको हो।
नेपालमा पछिल्लो समय बढ्दै गएको साइबर अपराध तथा ठगीका घटनालाई तत्काल र प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यले यो केन्द्र सञ्चालनमा ल्याइएको हो। केन्द्रमा नियामक निकाय, नेपाल प्रहरी, बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट, दूरसञ्चार कम्पनी र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूले एउटै भौतिक कक्षबाट एकीकृत रूपमा कार्य सम्पादन गर्नेछन्।
बहुपक्षीय निकायको प्रत्यक्ष सहभागितामा साइबर स्क्याम र ठगीलाई यथाशीघ्र प्रतिकार्य गरी सम्भावित जोखिम घटाउँदै देशको डिजिटल वित्तीय प्रणालीलाई थप सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य राखिएको छ। नागरिकबाट प्राप्त हुने साइबर ठगीसम्बन्धी उजुरी तथा सूचनालाई २४ सै घण्टा द्रुत गतिमा सम्बोधन गर्नका लागि सम्पर्क अधिकृत तोकी आकस्मिक फोन नम्बर ‘१२४७’ को समेत व्यवस्था गरिएको छ। यस सेवामार्फत साइबर अपराधसम्बन्धी घटनाको तत्काल सम्बोधन भई सर्वसाधारणले शीघ्र राहत पाउने विश्वास लिइएको छ।