भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा ३० करोडको लागतमा नेपालकै ठूलो अर्गानिक मल उद्योग सञ्चालनमा आएको छ । ग्रो मोर फर्टिलाईजर एण्ड केमिकल प्रालीले “रत्नम दानेदार अर्गानिक मल”को उत्पादन करिब १ वर्ष अघि देखि सुरु गरेको थियो । उत्पादन गरि परिक्षणको लागि बजार पठाएको र लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट सूचिकृत समेत भएपछि शुक्रबार एक कार्यक्रमका बिच मूख्यमन्त्री चेतनारायण आचार्यले उक्त उद्योगको उद्घाटन गरेका छन् ।
भैरहवा निवासी सिद्धार्थ अग्रवाल र उनको पत्नी पूनम कुमारी अग्रवालको संयुक्त लगानीमा रोहिणी गाउँपालिका वडा नम्बर ४ कोटहवामा अर्गानिक मल उद्योगको स्थापना भएको हो । उद्योगमा दैनिक दुई सय मेट्रिक टन उत्पादन क्षमताको रत्नम अर्गानिक दानेदार मलको व्यवसायिक उत्पादन भईरहेको यसका सञ्चालक सिद्धार्थ अग्रवालले जानकारी दिए । एक वर्ष अघि नै यसको उत्पादन सुरु गरेका थियौं धान, गहु, मकै, तरकारी लगायत बालीमा परीक्षण गर्दा सफल भयो, किसानको राम्रो प्रतिक्रिया पायौ ।” उनले भने “उद्योगले अहिले लुम्बिनी सहित गण्डकी, बागमती, मधेश र सुदूरपश्चिम प्रदेशका किसानलाई लक्षित गरी बजारीकरणमा लागेका छौं ।”
माटोको उर्वराशक्तिलाई दिगो बनाई बालीविरुवा हराभरा फुल्न, फल्न र राम्रो उत्पादनका लागि आवश्यक प्रोटिन नाइट्रोजन, फस्फोरस, पोटास, कार्बन, क्याल्सियम, म्यागनेशियम र सल्फर लगायतका अन्य अत्यावश्यक पोषक तत्वहरुको परिपूर्ति रत्नम दानेदार अर्गानिक मलले पुरा गर्ने दावी उद्योग संचालक अग्रवालको छ ।
उनले अहिले स्थानिय तह लगायत अन्य सरकारी निकायहरुले पनि मललाई राम्रो भएको प्रतिक्रिया दिदै किसानहरुको लागि अनुदानमा मल लिने कुराहरु गरिरहेको बताए ।
नेपालमा वर्षौंदेखि अन्नबाली तथा बोटबिरुवामा रासायनिक मल र विषादी पदार्थको प्रयोग हुँदै आएको छ । रासायनिक मल र विषादी पदार्थको अत्यधिक र असन्तुलित मात्रामा भएको प्रयोगले माटोलाई अझै रासायनिक बनाउने र जमिन मुनिको पानीलाई विषालु बनाउनु साथै बोटविरुवा तथा अन्नबाली जलाउने हुँदा माटोको उर्वराशक्ति र क्षमता तिव्र गतिमा ह्रास हुँदै गइरहेको कम्पनीकी प्रवनध निर्देशक पूनम कुमारी अग्रवालले बताइन ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सूचिकृत गरी गुणस्तरीय मल उत्पादन गरिरहेकाले अर्गानिक मलको प्रयोगबाट उब्जनी पनि वृद्धि हुने र मानव स्वास्थ्यलाई समेत फाइदा गर्ने सञ्चालक अग्रवालको भनाई छ । नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, सल्फर, म्याग्नेसियम, फलाम, कार्बनिक पदार्थ, नमी र कार्बन नाइट्रोजनको मिश्रण रहेको अर्गानिक मल रासायनिक मलको तुलनामा मूल्य पनि सस्तो र गुणस्तरीय रहेको प्रबन्ध निर्देशक अग्रवालले बताए ।
मल उद्योगको उद्यघाटन गर्नुहुदै लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले अबको १० देखि १५ वर्ष भित्र लुम्बिनी प्रदेशलाई रसायनिक मल मुक्त बनाई अर्गानिक बनाउने निति लिएको बताए । उनले यस्तो अवश्थामा अर्गानिक मल उत्पादकहरुको भविष्य लुम्बिनी प्रदेशमा राम्रो रहेको बताउदै प्रदेश सरकारले पनि यसमा थप सहयोग गर्ने जिकिर गरे ।
उनले प्रदेश सरकार संगै संघ सरकारलाई अर्गानिक मल उत्पादन गर्ने उद्योगहरुका लागि मेशीनरी देखि कच्चा पदार्थ आयात सम्ममा सहूलियतको निति बनाउन सहजीकरण गर्ने आश्वासन दिए ।उद्घाटन कार्यक्रममा पूर्व मन्त्री घनश्याम यादव, पूर्व सांसद प्रमोद कुमार यादव, रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादव लगायतले बोलेका थिए ।