जनकपुरधाम । मधेशमा ‘भरदुतिया’ पर्व मनाइँदै छ। भाइटीका जस्तै मधेशमा भरदुतिया मनाउने परम्परा रहेको छ ।
यस पर्वमा भाइटीका भन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतिया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ ।
दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन् । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार ९मिठो पकवानसहितका सनेस० लिएर पुग्ने चलन छ ।
भरदुतियामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन बनाएर सिन्दूरको थोपा लगाइन्छ ।
दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत दिनु भनिन्छ।
त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा उपहार दिने चलन छ । आजकै दिनबाट छठ पर्वको आरम्भ भएको मानिन्छ ।