राप्रपा रुपन्देहीले भन्यो- 'अहिलेसम्म कुनै दल वा उम्मेदवारलाई समर्थन गरेका छैनौं'

Ujyalosandeshonline 11543+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही जिल्ला कार्यसमितिले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भनी बाहिरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको कडा खण्डन गरेको छ। राप्रपा रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले जिल्ला समितिलाई कुनै जानकारी नै नदिई एकलौटी रूपमा विज्ञप्तिमा हस्ताक्षर गरी कांग्रेस उम्मेदवारलाई समर्थन गरेको भन्दै जिल्ला अध्यक्ष सागर प्रताप राणाले उक्त कार्य पूर्ण रूपमा पार्टीको साङ्गठनिक नीति विपरीत रहेको स्पष्ट पारेका छन् ।

आफ्नो पार्टीको तर्फबाट उक्त क्षेत्रमा उम्मेदवार नभएको अवस्थामा क्षेत्रीय सभापतिले आर्थिक प्रलोभनमा परेर कांग्रेसलाई समर्थन गरेको गम्भीर आरोप जिल्ला अध्यक्ष राणाद्वारा जारी प्रेस विज्ञप्तिमा लगाइएको छ। अहिलेको सन्दर्भमा पार्टीले हालसम्म आधिकारिक रूपमा कुनै पनि दल वा उम्मेदवारलाई समर्थन नगरेको प्रस्ट्याउँदै जिल्ला समितिले क्षेत्रीय सभापतिको व्यक्तिगत निर्णयलाई पार्टीका तर्फबाट आधिकारिक रूपमै खारेज गरेको छ। निर्वाचनको ठीक अगाडि मतदातालाई प्रभावित पार्ने र भ्रम सिर्जना गर्ने उद्देश्यले गरिएको उक्त कार्यप्रति पूर्ण रूपमा खेद प्रकट गर्दै राप्रपाले आफ्ना सम्पूर्ण मतदाता तथा शुभचिन्तकहरूलाई यस्ता भ्रामक समाचारबाट विचलित नहुन विनम्र आग्रह समेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार