बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग मन्त्री लम्सालको छलफल

Ujyalosandeshonline 12414+ समाचार ( )
११ अशोज २०८३, आइतबार

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगातारको वर्षाका कारण क्षति पुगेका क्षेत्रका जनप्रतिनिधिसँग आज छलफल गर्नुभएको छ । बाढी र पहिरोका कारण देशभर जनजीवन प्रभावित भएपछि मन्त्री लम्सालले प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसहित प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सो अवसरमा बाढीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तत्काल अघि बढाउने विषयमा छलफल भएको छ । मन्त्री लम्सालले पछिल्लो तीन दिनको बाढी र वर्षाका कारण क्षति पुगेका पुल, सडक, झोलुङ्गे पुल, खानेपानीलगायतका आयोजनाको क्षति मूल्याङ्कन गरी तत्काल बजेट व्यवस्थापन गरेर बोलपत्र प्रक्रियामार्फत पुनर्निर्माणको काम अघि बढाउने बताउनुभएको छ । उहाँले यसै महिनाभित्र पुनर्निर्माणको काम सुरु गर्ने प्रतिबद्धता छलफलका क्रममा व्यक्त गर्नुभएको छ ।

लगातारको वर्षा र बाढीका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुङ्गा तथा तनहुँ र नवलपरासीको देदगाउँस्थित पुलको एप्रोच सडक बगाएको छ । यस्तै, कालीगण्डकीको पक्की पुल बगाएको छ । कालीगण्डकी करिडोरका विभिन्न सडकखण्डका साथै डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा ठूलो क्षति पुगेको छ । डुम्रे–बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङमा मस्र्याङ्दी नदीको कटानका कारण करिब ४० मिटर सडक पूर्ण रूपमा भासिएको छ । नासो, खोत्रो मनाङमा ढुङ्गासहितको पहिरोका कारण सडक अवरुद्ध छ । 

नासो, बगरछाप मनाङमा मस्र्याङ्दी नदीको कटानका कारण करिब ५० मिटर सडक पूर्ण रूपमा भासिएको छ । मनाङको चामेमा बाढीका कारण तीन अस्थायी काठेपुल बगेका छन् । बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी स्थानमा क्षति पुगेको छ ।

बाढी तथा पहिरोका कारण रुकुमपूर्वको नाथीगाड झोलुङ्गे पुल, बागलुङ–पर्वत जलजला फोर्से झोलुङ्गे पुलमा पूर्ण रूपमा क्षति पुगेको छ । तनहुँको घिरिङ करुवाटार–नवलपुरको बुलिङटार मचेडी जोड्ने झोलुङ्गे पुल, स्याङ्जाको गल्याङ बेल्चौर–पाल्पाको रम्भा नौगाउँ–साठी बजार जोड्ने झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । यस्तै, पाल्पाको कासिबन–तनहुँको अत्रौली जोड्ने झोलुङ्गे पुल, पर्वत–स्याङ्जा जोड्ने सेतीबेणी झोलुङ्गे पुल तथा म्याग्दीको बेनी–पर्वतको जलजला जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ । बाढी र पहिरोले ३१ वटा खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार