भैरहवा, १३ फागुन । आगामी चैत ५ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाएको छ । निर्वाचनको सरगर्मी बढेसँगै रास्वपाका उम्मेदवारहरु मतदाताको विश्वास जित्न टोल–टोल र घर–घरमा पुगिरहेका छन् ।
रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार डा. लेखजङ्ग थापासहितको टोली अहिले चुनावी मैदानमा निकै सक्रिय देखिएको छ । थापाको साथमा रास्वपाका समानुपातिक उम्मेदवारहरु ज्ञानु पौडेल, पुनम अग्रवाल, कल्पना पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरुको टोलीले मतदाताका समस्या सुन्ने र पार्टीका एजेन्डा बुझाउने कार्य गरिरहेको छ ।
बुधबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा आयोजित घरदैलो कार्यक्रममा भने विशेष दृश्य देखिएको थियो । घरदैलो अभियानमा पार्टीका उम्मेदवार र कार्यकर्तासँगै सर्वसाधारण मतदाताको समेत उल्लेख्य उत्साह देखिएको छ । अभियानका क्रममा स्थानीय मतदाताहरू रास्वपाका कार्यकर्ताहरूसँगै सडकमा उत्रिएर नाचगान गर्दै उम्मेदवारको उत्साह बढाएका थिए ।
पेशाले न्युरोसर्जन रहनुभएका उम्मेदवार डा. लेखजङ्ग थापाले मतदातासँग कुरा गर्दै भन्नुभयो, “हामी केवल मत माग्न मात्र होइन, नागरिकका आधारभूत समस्याको समाधान खोज्न र नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएका हौँ । मतदाताको यो स्वतःस्फूर्त उत्साहले हामीलाई थप जिम्मेवार बनाएको छ ।”
घरदैलोका क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी तथा सुशासनका विषयलाई प्राथमिकतामा राख्दै उहाँले आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ । मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गर्दै डा. थापाले आधारभूत सेवामा सुधार र पारदर्शी शासन प्रणाली स्थापना आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो ।
रुपन्देही–३ मा यसपटक नयाँ र पुराना राजनीतिक शक्तिबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यसअघि पनि रुपन्देहीका विभिन्न क्षेत्रमा रास्वपाप्रति युवा र सचेत मतदाताको आकर्षण देखिएको थियो । सिद्धार्थनगरमा देखिएको यो पछिल्लो रौनकले आगामी निर्वाचनमा यहाँको प्रतिस्पर्धा निकै रोचक हुने संकेत गरेको छ ।
रास्वपाले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रविधिमैत्री सेवालाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएको पार्टीबाट समानुपातिक उम्मेदवार ज्ञानु पौडेलको भनाई छ ।
आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पौडेलले समुदायमा रास्वपाप्रति ठूलो आशा र ऊर्जा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो “समुदायमा एक खालको ऊर्जा र रास्वपाप्रति ठूलो आशा छ । अहिलेको समाजले स्पष्ट रूपमा परिवर्तन चाहिरहेको छ ।”
पौडेलका अनुसार जनताले रास्वपाको सरकार बनेमा क्षेत्रका आधारभूत समस्याहरु समाधान हुने अपेक्षा राखेका छन् । उहाँले आफ्नो पार्टीको प्रतिबद्धता पत्रमा समेटिएका कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने, रोजगारी र पर्यटनः स्थानीय स्तरमा रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धन गर्ने, पूर्वाधार विकासलाई व्यवस्थित बनाउने विषयमा जोड दिनुभयो ।
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाको पक्षमा राम्रो माहोल रहेको दाबी गर्दै उहाँले लुम्बिनी प्रदेशको क्षेत्र नम्बर ३ बाट आफूहरू अत्यधिक मतका साथ विजयी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बाँकी रहेका केही दिनहरूमा यो जनलहरलाई मतमा परिणत गर्न आफूहरु अहोरात्र खटिरहेको बताउनुभयो ।
रुपन्देही–३ मा राप्रपा र एमाले–कांग्रेस जस्ता पुराना शक्तिहरुको सांगठनिक आधार अझै बलियो छ । तर, रास्वपाले घरदैलो मार्फत जुन प्रकारको डोर–टु–डोर संवाद गरिरहेको छ, यसले पुराना दलहरुको विरासतलाई ठूलो धक्का दिने देखिन्छ । कार्यकर्ताहरुको जोस र मतदाताको नाचगानले यो क्षेत्रमा रास्वपा अब केवल विकल्प मात्र नभई प्रमुख प्रतिस्पर्धी का रुपमा उदाएको छ ।