ओमसतियामा दोश्रो अध्यक्ष कप सुरु
वडा नम्बर ६ र ३ को विजयी सुरुवात

Ujyalosandeshonline 2372+ समाचार ( )
१० चैत्र २०८०, शनिबार

भैरहवा । ओमसतिया गाउँपालिकामा दोश्रो अध्यक्ष कप शनिबारबाट सुरु भएको छ । गाउँपालिकामा रहेका क्रिकेटका खेलाडी उत्पादन गर्ने र पालिका स्तरिय क्रिकेट टिम बनाउने उद्देश्य सहित अध्यक्ष कपको सुरुवात भएको हो । 

ओमसतिया गाउँपालिका वडा नम्बर ६ मा रहेको रङ्गशालामा अध्यक्ष कपको सुरुवात गर्दै रुपन्देही क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्माले क्रिकेटले नेपालको प्रतिष्ठा र गरिमा बढाएको बताए । खेलहरु मध्ये क्रिकेटले उत्साहजनक सफलता हासिल गरेको उनले बताए । क्रिकेटमा रुपन्देही पहिला देखि नै उर्बर भूमि रहेको बताउदै उनले यसलाई पालिका स्तरदेखि नै संरक्षण गरिनु सकारात्मक रहेको विश्वकर्माले बताए । उनले रुपन्देही क्रिकेट संघ र पालिकाहरु मिलेर क्रिकेटको संस्थागत विकासमा लाग्न आग्रह गरे । 

खेलाडीहरुको उत्साह बढाउन समय–समयमा तालिम आवश्यक पर्ने भएकोले यसको व्यवस्थापनमा सबैको सहकार्य आवश्यक रहेको उनले बताए । क्रिकेटको विकासमा आवश्यक पर्ने सहयोगको लागि आफु सदैव तत्पर रहेको उनले बताए । 

ओमसतिया गाउँपालिकाका निर्वतमान अध्यक्ष हिरा केवटले आफ्नो कार्यकालमा रङ्गशाला बनाएर समग्र खेललाई बढावा दिएको बताए । उनले खेलको विकासको लागि पालिका स्तरकै अन्य खेल मैदानहरुको आवश्यकता औल्याउदै यसको लागि जग्गाहरु व्यवस्थापन गर्न पालिकालाई आग्रह गरे । 

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले रुपन्देहीको क्रिकेटको विकासमा संघसंग पालिकाहरुको सहकार्य आवश्यक रहेको बताए । ग्रामीण क्षेत्रबाट नै उत्कृष्ट क्रिकेट खेलाडी उत्पादन हुने भएकोले यसको लागि पालिकाहरुको प्रयास सराहनिय रहेको थापाले बताए । 

ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले दोश्रो अध्यक्ष कपले पालिकामा क्रिकेट खेलाडीहरु उत्पादन गर्ने विश्वास ब्यक्त गरिन । पालिकाका ६ वटै वडाका टिमहरुबाट पालिका स्तरिय शशक्त क्रिकेट टिम बनाउने र अन्य प्रतिष्पर्धाहरुमा खेल्नको लागि पठाइने उनले बताईन । 

गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले ६ वटै वडाका ६ टिम र पालिकाका अन्य २ गरि ८ टिमले प्रतिष्पर्धामा भाग लिएको जानकारी दिए । उनले यसैबाट पालिका स्तरिय टिम बनाई अन्य स्थानमा खेलाईने तथा त्यसको सम्पूर्ण व्यवस्थापन पालिकाले नै गर्ने बताए । 

शनिबार नै सम्पन्न उद्घाटन खेलमा वडा नम्बर ५ लाई वडा नम्बर ६ ले ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग रोजेको वडा नम्बर ५ ले निर्धारित १५ ओभर मध्ये १३ दशमलव २ ओभर खेल्दै १० विकेटको क्षतिमा १२३ रन बनाएको थियो । उसका लागि बिरुले सर्वाधिक ३८ रन बनाउदा अर्का ब्याटर अजयले ३४ रन र सोनुले २० रन बनाए । बलिङ्गमा वडा नम्बर ६ का किशोर यादव र आशिषले समान ३÷३ विकेट लिए । 

१२४ रनको लक्ष्य सहित मैदान छिरेको वडा नम्बर ६ ले १२ दशमलव ५ ओभर खेल्दै ३ विकेटको क्षतिमा १२७ रन बनाएर विजयी भयो । उसका लागि सुरज गुप्ताले अविजित ५९ रन बनाए भने रविले २९ रन र डेविडले २८ रन बनाए । बलिङ्गमा वडा नम्बर ५ का अजयले २ विकेट र बिरुले १ विकेट लिए । अर्धशतक बनाएका वडा नम्बर ६ का खेलाडी सुरज गुप्ता खेलको म्यान अफ द म्याच चुनिए । 

शनिबार नै सम्पन्न दोश्रो खेलमा ओमसतिया ३ नम्बर वडा ६ विकटले विजयी भयो ।  टर हारेर ब्याटिङ्गको निम्तो पाएको वडा नम्बर १ ले १२ औ ओभरमा आफ्ना सबै विकेट गुमाउदै मात्र ९४ रन बनाउन सक्यो । वडा नम्बर १ का लागि मान बहादुरले सर्वाधिक ४५ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त हुन सकेन । उसका लागि लाल बहादुर र सुशान्तले समान ११÷११ रन तथा गोपालले १० रन बनाए । 

बलिङ्गमा वडा नम्बर ३ का दिपेन्द्रले ३ ओभरमा ८ रन दिदै महत्वपूर्ण ४ विकेट लिए । यस्तै चन्दनले ३ र राजकुमारले १ विकेट लिए । 

९५ रनको लक्ष्य वडा नम्बर ३ ले ९ दशमलव ५ ओभर खेल्दै मात्र ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मनिरामले ४८ रन बनाए । यस्तै शेषले २६ रन बनाउदा राजकुमारले १२ रन बनाए । 

बलिङ्गमा वडा नम्बर १ का नारायण र मानबहादुरले समान २÷२ विकेट लिए । ४८ रन बनाएका वडा नम्बर ३ का ब्याटर मनिराम खेलको म्यान अफ द म्याच चुनिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार