अर्घाखाँचीको भूमिकास्थानमा चियाबगान गोडमेल गरी युवा दिवस मनाइयो

अनिल नेपाली 141+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चियाबगानमा गोडमेल गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । हरेक वर्ष अगस्ट १२ मा मनाइने युवा दिवसको अवसरमा भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको अर्घाखाँचीकै एकमात्र चियाबगैंचामा गोडमेल गरिएको हो ।

देउराली–लालिगुराँस सामुदायिक वनको करिब २० रोपनी क्षेत्रफलमा लगाइएका २१ हजार थान चियाको बोट रहेको बगैचामा झारपात गोडमेल र बिरुवामा उकेरा लगाउने कार्य गरिएको भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालले जानकारी दिनुभयो । उहाँले युवाको शक्ति, सृजनशीलता, उद्यमशीलता, सकारात्मक उर्जा र साझा प्रयासको भावना विकास गर्न युवा दिवस मार्फत युवालाई श्रममा जोडेको बताउनुभयो ।

चिया बगानमा गोडमेल पश्चात आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगरप्रमुख झविलाल थापाले भूमिकास्थानलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । प्राकृतिक र धार्मिक पर्यटकसँगै कृषि पर्यटनको प्रचुर सम्भावना रहेको उहाँको तर्क थियो । व्यवसायिक कृषि, पर्यटन, उत्पादन र व्यापार नै भूमिकास्थानको समृद्धिका आधार भएकोले कृषि पर्यटनको सुनौलो अवसर रहेको नगरप्रमुख थापाको भनाई छ ।

नगरपालिकाले युवाहरुलाई रोजगारी र सबै नागरिकलाई उत्पादनमा जोड्ने उद्देश्यले कर्मशिल जनशक्ति परिचालन कार्यक्रम कार्यान्वयनमा ल्याइरहेको उहाँले बताउनुभयो । युवाहरु सकारात्मक सोंचका साथ उत्पादन र श्रममा लागेमात्रै भूमिकास्थानको समृद्धि सफल हुने भन्दै नगरप्रमुख थापाले नगरपालिकाले ल्याएका समृद्धिका योजनामा जोडिन अपिल समेत गर्नुभएको छ । कार्यक्रममा बोल्दै वडा नम्बर १० का अध्यक्ष खगिश्वर पन्थीले युवा दिवसको अवसरमा रचनात्मक र परिणाममुखी काम गर्न आफ्नो वडालाई रोजेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख झविलाल थापा, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष, युवा सञ्जालका युवाहरु र स्थानीय उपभोक्ता सहित करिब एक सय जनाको सहभागितामा चियाबगानमा गोडमेल गरिएको देउराली–लालिगुराँस सामुदायिक वनका अध्यक्ष हिमनाथ खनालले जानकारी दिनुभयो । कार्यक्रम भूमिकास्थान नगरपालिकाका कृषि शाखा प्रमुख युवराज आचार्यको सहजीकरणमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार