गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै

Ujyalosandeshonline 2458+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

काठमाडौं । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए ।  भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पु¥याएको थियो । सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । सो दिनको स्मृतिमा बुधबार भूकम्प स्मृति दिवस मनाइदैछ ।

अघिल्लो पुस्ताले सुनाउँदै आएको १९९० सालको भूकम्पलाई विर्साउने गरी बैशाखमा गएको उक्त विनासकारी भूकम्पको सम्झना गर्दै बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइँदै छ ।  

खानी तथा भूगर्भ विभागले गोरखा भूकम्पको सम्झनामा बुधबार बृहत् फोटो प्रदर्शनी गर्दैछ भने देशभर सचेतनामूलक कार्यक्रमहरू हुँदैछन् । 

गोरखा भूकम्पबाट ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं,  ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो । 

सो भूकम्पले करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान सरकारले गरेको थियो । तर, सरकार र नागरिक तह दुवैले भूकम्पबाट जोगिन प्रभावकारी काम नगरेको पुष्टि गत कार्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा भएको छ । ६ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पले पश्चिमको १३ जिल्लालाई असर पा¥यो । १५३ जनाको ज्यान गयो भने ३६४ जना घाइते भए । 

सरकारले भूकम्प गएको महिनौं दिनसम्म पनि पीडिटका लागि राहत सामग्री पुर्याउन सकेन भने चिसोका कारण थप मानिसले ज्यान गुमाए । भूकम्पको ६ महिना पुग्न लाग्दा समेत पीडितका लागि स्थाई आवास निर्माणका प्रकृया सरकारले अगाडि बढाउन सकेको छैन । नेपाल भूकम्पीय जोखिममा ११ औं स्थानमा पर्छ भने काठमाडौं उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको स्थान हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार