परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७, भन्सार टोलबाट प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मोबाइलका सामानसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल बीओपी भुजहवाको संयुक्त टोलीले लु ३ च २९३९ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिई जाँच गर्दा सो अवैध सामग्री फेला परेको हो।
बरामद सामानमा २२ लाख ९४ हजार मूल्य बराबरको २ हजार २९४ थान एयरपोड्स, ७० लाख ९५ हजार बराबरको ४४ हजार ३०० थान टेम्पर ग्लास, ९३ हजारको मोबाइल कभर र प्लास्टिक गरी कुल ९४ लाख ८४ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स रहेका छन्। सामान ओसारपसारमा प्रयोग गरिएको २० लाख मूल्य बराबरको पिकअप गाडीसहित कुल १ करोड १४ लाख ८४ हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।