भैरहवा । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका गौरव बोहराले आफ्नो चुनाव प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्र पारेका छन् । मतदातासँग प्रत्यक्ष संवाद गर्न र उनीहरूका समस्या बुझ्न बोहरा यतिबेला सियारी गाउँपालिका र तिलोत्तमा क्षेत्रका बस्ती–बस्तीमा पुगिरहेका छन् ।
घर–घरमा पुगेर स्थानीय बासिन्दासँगको भेटघाटका क्रममा बोहराले नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या र अपेक्षालाई नजिकबाट सुनेका छन् । संवादका क्रममा स्थानीयले विशेषगरी कृषिमा आधुनिक प्रविधिको अभाव, सिँचाइको कमजोर अवस्था, युवा बेरोजगारी, सडक पूर्वाधारको मर्मत तथा विस्तार, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवाको आवश्यकता जस्ता विषयहरू प्रमुख रूपमा उठाएका थिए ।
स्थानीय मतदाताले राखेका गुनासा र सुझावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै उम्मेदवार बोहराले ती विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले रुपन्देही–३ लाई एक व्यवस्थित, पारदर्शी र विकासमुखी नमुना क्षेत्रका रूपमा अघि बढाउने आफ्नो स्पष्ट योजना रहेको बताए । विकास निर्माण र सुशासनमा जनसहभागिता तथा पारदर्शितालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ छ ।
बोहराको घरदैलो अभियानमा पार्टीका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको छ । साथै, घरदैलोमा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति र समर्थनले चुनावी कार्यक्रम थप उत्साहपूर्ण बनेको बताइएको छ । बोहराको सचिवालयका अनुसार, चुनाव नजिकिँदै गर्दा आगामी दिनमा पनि यस क्षेत्रका विभिन्न वडा तथा टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ । निर्वाचनको मिति नजिकिएसँगै रुपन्देही–३ मा घरदैलो र जनभेटघाटमार्फत उम्मेदवारहरू मतदाताको मन जित्ने प्रयासमा सक्रिय देखिएका छन् ।