रौतहट । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापस्थित बन्द रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै स्थानीयबासीले सुरु गरेको धर्ना तथा रिले अनसन तेस्रो दिन पनि जारी राखेका छन्। नेपाल सिमाना संघर्ष समितिको अगुवाइमा सुरु भएको आन्दोलनका क्रममा विक्रम संवत् २००७ देखि सञ्चालित नाका बन्द हुँदा सीमावर्ती बासिन्दाको आवतजावत, दैनिक उपभोग्य सामग्रीको कारोबार र जीविकोपार्जनमा गम्भीर असर परेको बताइएको छ।
धर्नास्थल पुगेका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकाय प्रमुखहरूले समस्या समाधान गर्नुको साटो दबाब र धम्कीपूर्ण शैली अपनाएको आन्दोलनकारीले आरोप लगाएका छन्।भन्सार नहुँदा राज्यले समेत राजस्व गुमाउनुका साथै अवैध कारोबार बढेकाले वैधानिक कारोबारको वातावरण मिलाउन आन्दोलनरत पक्षले माग गरेका छन्। आगामी सोमबारसम्म माग सम्बोधन नभए अनिश्चितकालीन आमरण अनसन बस्ने चेतावनी संघर्ष समितिले दिएको छ।