ओलीलाई अध्यक्षबाट हटाउने सपना नदेख्न सूर्यबहादुर थापाको चेतावनी, मौन बस्ने नेतालाई ‘ढुंगा’ को संज्ञा

Ujyalosandeshonline 11144+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

भैरहवा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नु असम्भव रहेको बताएका छन् । सोमबार भैरहवामा प्रेस चौतारी नेपाल, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ओलीलाई नेतृत्वबाट बिदाई गर्ने चाहना कसैको पनि पूरा नहुने दाबी गरे ।

मुलुकभित्र र बाहिरका शक्तिसँग जुध्न सक्ने क्षमता ओलीमा मात्र रहेको भन्दै थापाले पार्टीभित्रको मोर्चाबन्दीले उनलाई कमजोर बनाउन नसक्ने जिकिर गरे । उनले ईश्वर पोखरेलले पनि कुरा बुझ्नुपर्ने भन्दै यसपटक अध्यक्षमा उम्मेदवारी दिनेको हालत विगतमा भीम रावलको जस्तै र त्यो भन्दा खराब हुने चेतावनी दिए ।

थापाले पार्टीमा संकट पर्दा ‘डिफेन्स’ नगरी मौन बस्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूप्रति कडा आक्रोश पोखे । ‘मौनता साँध्नेहरू ढुंगा हुन्, उनीहरू मूर्ति बनाउन काम लाग्छन् तर नेतृत्व गर्न होइन,’ उनले भने । नबोल्नेलाई नेतृत्वमा ल्याउन नहुने उनको तर्क थियो । यस्तै, थापाले हालै भएको ‘जेनजी’ आन्दोलनलाई नियोजित डिजाइनको संज्ञा दिए । आन्दोलनका नाममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता ऐतिहासिक स्थलमा आगजनी गर्नेहरू वास्तविक जेनजी नभएको भन्दै उनले अराजकता मच्चाउनेलाई कानुनी कारबाही हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया