काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन अपरिहार्य रहेको बताउनुभएको छ । अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सरोकारवाला निकायबीचको समन्वय, सहकार्य र सूचनाको प्रभावकारी आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यशालाबाट प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपायहरू पहिचान हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । “आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान” भन्ने नारा र “वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म” भन्ने मुख्य विषयवस्तुमा केन्द्रित उक्त कार्यशालामा प्रहरी महानिरीक्षक डा. केसीले “नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह – भाग ३” नामक पुस्तकसमेत लोकार्पण गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।