नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु

रासस 489+ समाचार ( )
१५ वैशाख २०८३, मङ्गलबार

जानकी (बाँके)। नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउने उद्देश्यले ट्रलीबस सेवा सञ्चालन गरिएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । 

विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो । उक्त सेवा लिनुभएकी यात्री सरिता शर्माले निःशुल्क ट्रलीबस सेवाले विशेष राहत मिलेको बताउनुभयो । “म आज काठमाडौँबाट नेपालगन्ज आएकी हुँ । यहाँ झर्दा अटोले लिने चर्को शुल्क र अटोवालासँग ‘बार्गेनिङ’ गर्दा खेप्नुपर्ने गर्मी यी दुवैबाट छुटकारा पाएको अनुभूति भएको छ”, उहाँले भन्नुभयो । 

नेपालगन्ज विमानस्थल प्रमुख सन्तोषकुमार पोखरेलले यात्रुहरूको सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब २५ सिट क्षमता रहेको यो बस पूर्ण रूपमा अपाङ्गमैत्री छ । शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई समेत सहज पहुँच होस् भन्ने सोचका साथ यसको सञ्चालन गरिएको हो ।”नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको सेवा प्रवाहलाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन विभिन्न सुधार भइरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार