नवलपुर । नवलपुरको कावासोती नगरपालिका–८, सगरमाथा टोलमा एउटा दर्दनाक घटना घटेको छ। सामान्य घरायसी विवादले उग्र रूप लिँदा एक पतिले आफ्नै पत्नीको धारिलो हतियार प्रयोग गरी निर्ममतापूर्वक हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ४२ वर्षीय सूर्य प्रसाद पाण्डेले आफ्नी ३७ वर्षीया पत्नी संगिता पौडेल पाण्डेलाई धारिलो हतियार (चक्कु) प्रयोग गरी शरीरका विभिन्न भागमा गम्भीर प्रहार गरेका थिए। घटना साँझपख भएको थियो ।
प्रहारबाट गम्भीर घाइते भएकी संगिता पौडेल पाण्डेलाई प्रहरीको ११ जनाको टोलीले तत्काल उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याएको थियो। तर, अस्पताल पुर्याएलगत्तै उपचारकै क्रममा साँझ करिब ७:१५ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन् ।
घटनालगत्तै अभियुक्त पति सूर्य प्रसाद पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। घरायसी विवादले यस्तो जघन्य अपराधको रूप लिएपछि सगरमाथा टोल र आसपासका क्षेत्रमा त्रास र शोक छाएको छ।