भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहराले सेवाको पदले प्रतीक्षा नगर्ने बताउँदै यो केवल जिम्मेवारीको भावना भएको स्पष्ट पार्नुभएको छ । शनिबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवल उपमहानगरपालिकाका विभिन्न वडामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकको सेवामा समर्पित हुने आफ्नो अठोट व्यक्त गर्नुभएको हो ।
शनिबार बुटवल उपमहानगरपालिकाका वडा नम्बर १४, १५, १६, १७, १८ र १९ मा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार बोहराले आफ्नो पारिवारिक पृष्ठभूमि र व्यक्तिगत संकल्पबारे प्रष्ट पार्नुभयो । आफ्नो परिवारले सार्वजनिक जीवनलाई नजिकबाट नियालेको र स्वर्गीय पिता दीपक बोहराले रुपन्देहीमा पुर्याएको योगदान आम नागरिकलाई अवगत नै रहेको उहाँले स्मरण गर्नुभयो । यद्यपि, आफू केवल पिताको इतिहास र विरासतका कारण मात्र नभई आफ्नो व्यक्तिगत यात्रा र जिम्मेवारी बोधका आधारमा चुनावी मैदानमा होमिएको उहाँले जिकिर गर्नुभयो ।
आफ्नो जीवन पेशागत अनुशासन र सेवाभावमा व्यतीत भएको उल्लेख गर्दै बोहराले आफ्नो काममार्फत आम नागरिकलाई सहयोग गर्ने, उनीहरूका गुनासा सुन्ने र सकेसम्म समाधान खोज्ने कार्यमा आफू विगतदेखि नै सक्रिय रहँदै आएको बताउनुभयो । विगतदेखि नै नागरिकको भावनालाई आत्मसात गर्दै आएको अनुभव र जिम्मेवारीबोधलाई अब आफ्नो जन्मभूमि रुपन्देही क्षेत्र नम्बर ३ को सेवामा पूर्ण रुपमा समर्पित गर्न चाहेको उहाँको भनाइ छ ।
यसैगरी, मतदातासँगको अन्तर्क्रियाका क्रममा उम्मेदवार बोहराले भैरहवाको समग्र विकास र सम्भावनाका विषयमा पनि आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो । भैरहवालाई अन्तर्राष्ट्रिय पर्यटन बजारका रुपमा विकास गर्ने कुरा कुनै सस्तो चुनावी नारा मात्र नभई एक यथार्थ सम्भावना भएको उहाँले दाबी गर्नुभयो । यो सम्भावनालाई व्यवहारमा उतार्नका लागि स्पष्ट नीति, व्यवस्थित भौतिक पूर्वाधार निर्माण र त्यसको जिम्मेवारपूर्ण कार्यान्वयनको नितान्त आवश्यकता रहेको कुरामा उहाँले जोड दिनुभएको छ ।