भैरहवा । नक्कली शैक्षिक प्रमाणपत्र कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीले चितवनबाट ‘कलेज कोच नेपाल प्रा.लि.’ का सञ्चालक ५० वर्षीय हरि प्रसाद कडेललाई पक्राउ गरेको हो ।
यसअघि भदौ १ गते रुपन्देहीको बेलहियाबाट नक्कली प्रमाणपत्रसहित पक्राउ परेका भारतीय नागरिक अभिषेक यादवको बयानका आधारमा कडेलको संलग्नता खुलेको हो । यादवको साथबाट नेपाल तथा भारतका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरूका सयौं नक्कली प्रमाणपत्र, होलोग्राम र स्ट्याम्प बरामद गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, यादवमाथि अनुसन्धान गर्ने क्रममा कडेलको नाम खुलेपछि चितवन प्रहरीको सहकार्यमा उनलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।