मध्यबिन्दु, नवलपुर । मध्यबिन्दु नगर अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट औपचारिक अनुमोदन प्राप्त गरी नगरवासीका लागि स्वास्थ्य बीमा मार्फत थप प्रभावकारी र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै यसलाई एक ऐतिहासिक उपलब्धि भएको बताएको छ ।
नगर अस्पतालको नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै नगर प्रमुख अधिकारीले यो सफलता नगरवासीको हितमा गरिएको निरन्तर प्रयासको सार्थक परिणाम भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “अस्पताल निर्माणको सुरुवातदेखि नै हामीले स्वास्थ्य बीमा बोर्डसँग निरन्तर समन्वय गर्दै नगर अस्पतालको मापदण्ड पूरा गरी बीमा सेवामार्फत नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रयासलाई प्राथमिकता दिएका थियौँ, जसको परिणामस्वरूप आज त्यो पहल सार्थक बनेको छ ।”
विगतमा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा मात्र चिनिने यस स्वास्थ्य संस्थालाई नेपाल सरकारले नगर अस्पतालको रूपमा स्वीकृति प्रदान गरेपछि आवश्यक बजेट विनियोजन, भवन निर्माण, सेवा विस्तार र संरचनागत सुदृढीकरणका कामहरू निरन्तर अघि बढिरहेका थिए । तर, स्वास्थ्य बीमा बोर्डको अनुमोदन नहुँदा बीमा टिकटअनुसार सीमित सेवा मात्र दिनुपर्ने बाध्यता थियो । अब सो अवरोध हटेपछि नगरवासीले थप व्यापक, सहज र प्रभावकारी स्वास्थ्य सेवा पाउने भएका छन् ।
“स्थानीय सरकारको नेतृत्वमा आएदेखि नै हामी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवासँग जोड्ने दिशामा गम्भीर र प्रतिबद्ध छौँ, र त्यसकै प्रमाण यो उपलब्धि हो,” नगर प्रमुख अधिकारीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँले यो सफलता मध्यबिन्दु नगरपालिकाको निरन्तर पहल, नगरवासीको अटूट विश्वास र सबै सरोकारवालाको सामूहिक प्रयासको प्रतिफल भएको भन्दै सम्पूर्ण नगरवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।