मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |
मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |


मधेशमा ‘तिलासक्रायत’को चहलपहल

Ujyalosandeshonline 12321+ समाचार ( )
२७ पौष २०८२, आइतबार

महोत्तरी ।‘तिलासक्रायत’ पर्वको चहलपहल बढ्दै छ । माघेसङ्क्रान्ति भनिने पर्वलाई मिथिलामा ‘तिलासक्रायत’ भन्ने गरिएको छ । यो पर्व यसपालि आगामी बिहीबार मनाइँदैछ ।लगातारजस्तै बढेको बाक्लो हुस्सुले डम्म ढाकेर चिसो सिरेटो चल्ने क्रम पछिल्ला दुईतीन दिनयता  अपराह्नपछि कम हुँदै गएपछि पर्वको तयारीमा लाग्न थोरै राहत मिलेको सर्वसाधारणले बताएका छन् । दुईतीन दिनदेखि दिउँसोतिर हुस्सु फाटेर केहीबेर घाम देखिन थालेपछि यतातिरका साँझपख लाग्ने साप्ताहिक हटिया (निश्चित बार लाग्ने बजार)मा पर्वका सामानको खरिदबिक्रीले चहलपहल बढ्दै गएको छ ।

यो पर्वमा गरिब किसान केही नगद आर्जन हुने आसमा निकै व्यस्त हुन्छन् । यसबेला आफ्ना उत्पादित बस्तुले राम्रो मूल्य पाउने आसमा गरिब किसानको व्यस्तता बढ्ने गरेको हो ।  कठ्याङग्रिँने ठिही खप्दै किसान उखु पेलेर मिठ्ठा (सक्खर) बनाउन र बजार पुर्याएर बेच्न तल्लिन छन् । त्यसैगरी, पर्वविशेषका खाद्यवस्तु सखरखण्ड, तरुल र सुथुनी (माटोमुनि फल्ने मधेसको एकप्रकारको फल) खन्न, बजार पुर्याएर बेच्न किसानलाई भ्याइनभ्याई छ । यसपालि लामो शीतलहरले काटेर खलोमा राखिएको तील भने कोसा सुक्न नपाएर पूर्वपश्चिम राजमार्गको सेरोफेरो र त्योभन्दा तलका किसानले झार्न पाएका छैनन् । किसानले झार्न भ्याएका तील बजारमा पुर्याउनासाथ राम्रो मूल्यमा बिकेको बर्दिबास–३ चुरेकाछ बस्ती पर्साहीधापका बुद्धबहादुर मोक्तान बताउनुहुन्छ ।

“हाम्रो काछतिर त खासै हुस्सु लागेन, कहिलेकाहीँमात्रै हो, त्यसैले तील झार्न पायौँ”, उहाँ भन्नुहुन्छ, “बेलाले होला, राम्रै दाम पाइयो ।” तील अहिले रु ३०० देखि ३४० प्रतिकिलोसम्म बेचिएको उहाँको भनाइ छ । त्यसैगरी, अहिले सक्खर, सखरखण्ड, तरुल र सुथुनीले पनि राम्रो मूल्य पाउने गरेको किसान बताउँछन् । “अरु बेला रु ९० देखि १०० प्रतिकिलो बिक्ने सक्खर अहिले रु १२० मा बिकेको छ”, भङ्गाहा–४ प्रेमनगरका किसान सुफल महतो भन्नुहुन्छ, “सक्खरले राम्रो दाम पाउँदा ठण्डी (चिसो) मा काम गरेको दुःख बिर्साएको छ ।” अहिले सखरखण्ड, तरुल र सुथुनी पनि प्रतिकिलो रु १०० माथि बिक्री भइरहेको किसान बताउँछन् ।

पर्व ठ्याक्कै सङ्घारमा आएका बेला अब दिउँसोतिर दिन सफा हुँदै गएपछि सर्वसाधारणले अब राहतको अनुभव गरेका छन् । “दुईतीन दिन भयो, दिउँसो अलिबारलाई भए पनि घाम देखिन थालेको छ”, बर्दिबास–८ हाथीलेटका इन्द्रदेव यादव भन्नुहुन्छ, “पवनी (पर्व)को दिनसम्म मौसम निकै सुध्रने आस जगाउँदैछ ।”

मिथिलामा ‘तिलासक्रायत’ खानेपिउने रमाइलोको पर्व मानिन्छ । यस पर्वमा तील, चिउरा, मुरी (भुजा) र जुनेलोका ‘लाई’ (यी सामान भुटेर सक्खरको खुँदोमा मिसाइ बनाइने एकप्रकारको लड्डु)  खाने, ख्वाउने चलन छ । त्यसैगरी पर्वका दिन मासको दाल र चामलको खिचडीमा घिउ हालेर खाइने मैथिल चलन छ । मिथिलाको मुख्य चाडवाडमध्येको यो पर्वमा सबैले टोलछिमेकका दोस्तमहिम (इष्टमित्र) र आफन्तलाई घरमा डाकी ख्वाउने गरिन्छ । यो पर्वपछि यसको ‘सनेस’ (कोसेली) छोरीचेली, दिदीबहिनी, फुपू र मितमितिनीकहाँ अनिवार्य लगिने चलनले माघमध्यसम्म यो पर्वको चहलपहल रहन्छ ।

यो पर्वका बेला अहिले तीनचार कट्ठामात्र जग्गा भएका गरिब किसानले पनि मिठ्ठा (सक्खर), तरुल, सखरखण्ड, सुथुनी  र तील बेचेर रु १०–२० हजार नगद जोहो गर्न भ्याएका छन् । घरछेउको चारपाँच कट्ठा पाखोबारीबाटै यसपालि सखरखण्ड र तरुलबाट अहिलेसम्म रु १५÷१६ हजार लिइसकेको बर्दिबास–११ चुरेकाछको भित्रीखोला बस्तीकी सुकीमाया तामाङ बताउनुहुन्छ । अहिले आधाजसो खन्ने बाँकी रहेको उहाँको भनाइ छ । पर्वमा सखरखण्ड, सुथुनी र तरुल खाइने चलनले यसबेला यी उत्पादनले राम्रो बजार पाउँदै आएका किसान बताउँछन् ।

तिलासक्रायत पर्वमा सक्खर मिसाएर बनाइएको तील, चिउरा, मुरी (विशेष प्रकारको चामलको भुजा) र जुनेला (अन्नविशेष)को लाई (लड्डु), उसिनेको तरुल एवं मासको दाल, अरवा चामल र घिउको खिचडी विशेष प्रकार मानिने मैथिल परम्परा छ । यसै परम्पराले अहिले यी परिकार बनाइने खाद्य सामग्रीको माग ह्वात्तै बढेको हो ।

यहाँका साप्ताहिक हटियामा अहिले पर्वविशेषका सामग्रीको बजार दिनदिनै जमेको छ । साप्ताहिक हटियामात्र नभएर अहिले बस्तीबस्तीमै तील, मिठ्ठा, चिउरा, मुरी र कतिपय ठाउँमा लाइकै बजार जम्दै देखिँदो छ । दिउँसोतिर नै भए पनि घाम देखिन थालेपछि साँझपख लाग्ने यहाँका हटिया अब भरिभराउ देखिँदैछन् । यसले सम्पूर्ण मिथिलाक्षेत्र चहलपहलमय बन्दो देखिँदो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार