नवलपरासी । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित २४ कार्यदिन अवधिको आवासीय ‘हतियार ह्याण्डलिङ तालिम’ २५ औँ समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार गत भदौ २२ गतेदेखि सञ्चालित सो तालिमको निमित्त प्राचार्य प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो।
कार्यक्रमका अवसरमा तालिमको प्रभावकारिता, सिकाइ उपलब्धि तथा तालिमका क्रममा प्राप्त अनुभव र सुझावका सम्बन्धमा सहभागीहरूबीच अन्तरक्रिया समेत गरिएको थियो। सोही अवसरमा तालिमलाई सफलतापूर्वक सम्पन्न गराउन बाह्य प्रशिक्षकका रूपमा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने प्रहरी जवान जगविर घर्ती मगरलाई योगदानको उच्च मूल्याङ्कन गर्दै ‘उत्कृष्ट प्रशिक्षक’ का रूपमा कदरपत्र प्रदान गरिएको थियो।