भैरहवा । बुधबार देवदह नगरपालिका वडा नम्बर १२ ढोलबजवामा रहेको श्री सिक्टहन माध्यमिक विद्यालयका प्रधान अध्यापक दुधनाथ कँवरको सेवा निवृत पछिको विदाई कार्यक्रम राखिएको थियो । सामान्यतः सेवा निवृत भएका कर्मचारीको हकमा कार्यालयमै सामान्य तरिकाले विदाई गरिन्छ । मायाको चिनो, माला, खादा लगाई विदाई गर्ने गरिन्छ । तर कँवरको विदाईको लागि विद्यालयले औपचरिक कार्यक्रम नै गरेको थियो । जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी प्राय सबै कार्यक्रममा उपस्थित थिए ।
बिद्यार्थीहरु पनि घरबाट नै माला ल्याएका थिए । बिद्यालयको चौरमै बेन्चमा बसेका बिद्यार्थीहरुको अनुहार मलिन थियो । शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायत अन्यले मायाको चिनो दिए पछि मात्र विद्यार्थीहरुले कँवर सरलाई विदाई गर्न पाए । विद्यार्थीहरुको पालोमा बिद्यालय परिसरको माहौल नै परिवर्तन भयो । आफ्नो प्रिय सरलाई विदाई गर्नु परेपछि बिद्यार्थीहरुको आँशु नै रोकिएको थिएन । धेरै जना कँवर सरलाई अङ्गालो हाल्दै डाको छाडेर रुदै थिए । अन्य शिक्षकलाई उनिहरुलाई सम्हाल्न हम्मे हम्मे भयो । पुरै विद्यालयमै रुवावासी चल्यो ।
“कँवर सर प्रधान अध्यापक मात्र हैन, हाम्रो अभिभावक हुनुहुन्थ्यो, अहिले हामीलाई छाडेर जादै हुनुहुन्छ ।” विद्यार्थी अनिसा भरले भनिन “उहा सर मात्र हैन हामी जस्ता गरिब विद्यार्थीहरुका लागि भगवान नै हुनुहुन्थ्यो ।”
भरको अनुसार बिद्यालय आउने कतिपय बिद्यार्थीहरु अति विपन्न छन् । उनिहरुलाई विद्यालयको पोशाक, सामान्य शुल्क लगायत पनि तिर्न गाह्रे हुन्छ, यस्तो अवश्था भएका धेरै विद्यार्थीहरुको कँवर सरले आफ्नै खर्चमा पढाउथे । “यहि गाउँमा बसेको कारण सरलाई घर घरको अवश्थाबारे थाहा थियो, उहाँको उपस्थितिमा हाम्रो पढाई पनि राम्रो भएको थियो ।” भरले भनिन “ठूलो सानो जस्तो समस्या भए पनि हामी सोझै सरलाई भन्ने गथ्र्यौ र सरले पनि त्यसलाई सहजै समाधान गरिदिनुहुन्थ्यो ।”
२०४२ साल मंसिर १ गते अस्थायी नियुक्ति पाएर तत्कालीन सिक्टहन प्राथमिक विद्यालयमै शिक्षक नियुक्त भएका थिए दुधनाथ कँवर । २०४५÷१०÷२७ गते स्थायी नियुक्ती पाउनु भएको उनले २ महिना २ दिनको लागि नवलपरासीको बालहित प्राथमिक विद्यालयमा अध्यापन गराए । त्यसपछि पुनः सिक्टन प्राविमा सरुवा भई अन्ततः उनि यहि कार्तिक १४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाए ।
दुधनाथ कँवर आफ्नो विद्यालयमा मात्र नभई आसपासका क्षेत्रमा समेत प्रख्यात थिए । शैक्षिक सेवामा लामो समय रहेका उनि कतिपय गरिब विद्यार्थीहरुको शिक्षाको मूख्य श्रोत थिए । आफ्नै विद्यालयका शिक्षकहरु माझ पनि कँवर लोकप्रिय थिए । सोही विद्यालयमा विगत १० वर्ष देखि अध्यापक गराउदै आएकी शिक्षक रीता पराजुली कँवर सरलाई सुरु देखि नै अभिभावकको रुपमा भेटाएको बताउछिन । “विद्यालयमा आउने अप्ठ्यरा,कमि कमजोरीहरु सरले आफु अप्ठ्यारोमा परेर भए पनि सहजीकरण गर्नुहुन्थ्यो ।” पराजुलीले भनिन “विद्यार्थी मात्र नभई शिक्षक हकहितको लागि पनि सरले आफ्नै तर्फबाट सहयोग गरेर आवाज उठाउनुहुन्थ्यो ।
कँवर सर विद्यालय प्रवेश गर्दा ३ कक्षा सम्म मात्र थियो । त्यसपछि उनकै नेतृत्वमा बिद्यालय क्रमश निमावि, मावि हुदै उच्च मावि सम्म पुग्यो । “यो विद्यालय स्थानिय तह मात्रै नभई प्रदेश हुदै केन्द्र सम्म पुरस्कृत विद्यालय भएको छ । यस संगै म पनि पुरस्कृत भएको छु ।” कँवरले भने “मैले आफुले जानेबुझे सम्म विद्यालयको हितमै काम गरे, विद्यार्थीहरुकै लागि काम गरे ।”
पूर्व प्रअ भए पनि स्थानिय भएको आधारमा विद्यालयको हितमा काम गरिरहने उनको भनाई छ । विद्यालयबाट विदा हुदै गर्दा उनले आफ्नो आमा बुवाको नाममा १ लाखको अक्षयकोषको स्थापना समेत गरेका छन् ।
४० वर्ष एकै स्थानमा काम गर्नुभएका दुधनाथ कँवरको भावुक विदाई पछि विद्यालय परिवार, विद्यार्थी र अभिभावक सहितले उहाँलाई बाजा सहित उहाँको घरको छोड्न पुगेको थियो ।
हाम्रो विद्यालयको समाचार सम्प्रेषण गर्नुभएकोमा उज्यालो सन्देशलाई विशेष धन्यवाद।