गण्डकी । नयाँ वर्ष २०८३ आरम्भका दिन कालीगण्डकी नदी दोहनविरुद्ध नदी तटका विभिन्न धार्मिकस्थलमा ब्यानर प्रदर्शन गरेको ‘कालीगण्डकी बचाऔँ’ अभियानले आइतबारदेखि सोही ठाउँबाट सरसफाइ अभियान थालेको छ । स्याङ्जा, पर्वत र बागलुङको पुरानो घाट कालीगण्डकी नदी छेउमा अवस्थित मोदीवेणीधामबाट सरसफाइ अभियान सुरु गरिएको हो । पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीधाम यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल मानिन्छ । प्रकृति दोहनका कारण मोदीवेणिधामले सङ्कट झेलिरहेको भन्दै कालीगण्डकी बचाऔँ अभियान र शिवालय युवा विकास मञ्च मिलेर सरसफाइ अभियान थालेका हुन् ।
“कालीगण्डकी नदी संरक्षणको सन्देशसँगै नदी तटमा रहेका धार्मिक सम्पदास्थलको वातावरणीय स्वच्छताका लागि यो अभियान सुरु गरिएको हो”, अभियानका संयोजक आरके अदीप्त गिरीले भन्नुभयो ।विकास गतिविधि र मानवीय क्रियाकलापका कारण प्रदूषित हुँदै गइरहेको मोदीवेणिको पहिचान र अस्तित्व रक्षाका लागि सबै एकजुट हुनुपर्ने उहाँको भनाइ छ । अव्यस्थित रुपमा भइरहेको नदीजन्य पदार्थको उत्खननका कारण मोदीवेणिलगायत कालीगण्डकी तटमा रहेका तीर्थस्थल र घाटहरू सङ्कटमा परेको संयोजक गिरीले बताउनुभयो ।
कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थलमा रुपमा मोदीवेणिसँग पौराणिक किंवदन्ती र कथा–प्रसङ्गहरु पनि जोडिएको उहाँको भनाइ छ । धार्मिकस्थललगायत सार्वजनिक महत्वका ठाउँमा अबदेखि साप्ताहिक रुपमा सरसफाइ अभियान सञ्चालन गरिने संयोजनक गिरीले बताउनुभयो । “हरेक हप्तालाई सिर्जनाशील बनाउने हाम्रो सोच छ, यस अभियानमा जोडिन स्थानीयवासी सबैलाई आग्रह गरेका छौँ, समुदायसँग मिलेर नै सरसफाइ अभियानलाई अगाडि बढाउँछौँ ।” सरसफाइसँगै अभियानकर्मीहरूले ‘कालीगण्डकी बचाऔँ’ अभियानको ब्यानर प्रदर्शन गरेका थिए ।
मोदीवेणिधामलाई मुक्तिनाथ र दामोदर कुण्डको प्रवेशद्वारको रुपमा चिनिन्छ । वैशाख सक्रान्ती, हरिवोधनी एकादशीमा मोदीवेणिमा ठूलो मेला लाग्ने गर्छ । घरमा कुनै शुभकार्य गर्नु परेमा उक्त घाटबाट पवित्र जल तथा बालुवासमेत लगेर गर्ने चलन छ । कालीगण्डकी नदीको प्राकृतिक स्रोत मूलतः ढुङ्गा, शिला, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकीमा नदी क्षति पुग्दै गएको छ ।
नदीमाथि जथाभाबी उत्खनन गर्ने, मलमुत्र, फोहर मैला बिसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण, वन फडानी आदित्य चपेटामा कालीगण्डकी नदी पर्दै गएको छ । मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएको यस नदीको संरक्षणमा अभियानकर्मीहरूले आवाज उठाउँदै आएका छन् । कालीगण्डकी नदीलाई हिन्दू र बौद्धधर्मावलम्बी सबैले पवित्र नदीका रुपमा लिने गर्छन् । कालीगण्डकीको शिर मुक्तिनाथलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र र अलौकिक क्षेत्र मान्छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालय पर्वत शृङ्खला धवलागिरि, अन्नपूर्ण, र मनास्लु रहेका छन् भने छ हजार मिटरसम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् ।
कहिले कविता त कहिले गीतमार्फत, कहिले नदीका शिलालाई भगवान्का नाम दिएर त कहिले नदी किनारमा पैदलयात्रा गरेर ‘कालीगण्डकी बचाऔँ अभियान’ले कालीगण्डकी नदी दोहनविरुद्धको आफ्नो सिर्जनात्मक प्रतिरोधलाई जारी राखेको छ । चार वर्षअघि कालीगण्डकी संरक्षणका पक्षमा कविता शृङ्खला ‘नदी सप्तक’ सञ्चालन गरेको उक्त अभियानले गत वर्ष जेठमा मोहिनी एकादशी तिथि पारेर कालीगण्डकी नदीका शिलामा भगवानका नाम अङ्कित गरेको थियो ।
‘कालीगण्डकी बचाऔँ अभियान’ र ‘प्रकृति, पर्यावरण र शालिग्राम संरक्षण समिति’ मा आबद्ध अभियानकर्मीहरूले कालीगण्डकी आसपासका प्रमुख धर्मघाटहरूमा शालिग्राम भगवानका नाम शिलाङ्कित गरेका थिए । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा मात्र पाइने विश्वकै दुर्लभ शालिग्राम शिला लोप हुने खतरा बढेपछि शिलाको नामाङ्कन गरिएको हो । शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवानका रूपमा पुज्ने गर्छन् । कालीगण्डकी नदीको पवित्रता एवम् चक्राङ्कित र निष्चक्राङ्कित शालिग्राम शिला र नदी संरक्षणको सन्देश दिन उक्त अभियान सुरू गरिएको थियो ।
अस्तित्व सङ्कटबाट गुज्रिरहेको कालीगण्डकी नदी संरक्षणमा सरोकार भएका पक्षको ध्यानाकर्षण होस् र जनस्तरमा सन्देश पुगोस् भनेर विभिन्न अभियान सञ्चालन गरिएको संयोजक गिरीको भनाइ छ । अव्यवस्थित विकास गतिविधि र प्रकृति दोहनका कारण कालीगण्डकी नदी र यस क्षेत्रको पर्यावरण नै खतरामा परेको उहाँले बताउनुभयो । जन्मदेखि मृत्यु संस्कारसम्मका सबै परम्पराको स्रोत र स्थलमा भएको दोहनको अभियानले विरोध गर्दै आएको छ ।
प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विशिष्टता बोकेको कालीगण्डकी नदी बचाउनु मानव सभ्यता बचाउनु सरह रहेको अभियानकर्मीहरू बताउँछन् । नदीमा हुने मानवीय हस्तक्षेपका कारण पानीको प्रदूषण, वनस्पति र जनावरको पारिस्थितिकीमा असन्तुलन र जैविक विविधतामा नोक्सानी पु¥याइरहेको उनीहरूको भनाइ छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । जभाभावी दोहनकै कारण कालीगण्डकीमा मात्रै पाइने उक्त शालिग्राम शिला लोपोन्मुख अवस्थामा पुगेको छ । यो नदी हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिणतर्फ बग्छ । राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै गिट्टी, बालुवा उत्खननका नाममा मनपरी ढङ्गले नदी दोहन भइरहेको छ ।
नदी र खोलाका किनारैकिनार खनिएका सडक, अव्यवस्थित सहरीकरण र विकास गतिविधि, प्रकृतिदोहन आदि कारणले मानव र प्राणी जगत् जोखिममा पर्दै गएकामा पर्यावरणकर्मी चिन्तित छन् । अव्यवस्थित उत्खननका कारण नदी कुरुप बन्दै गएको मात्र छैन, ठाउँठाउँमा नदीको धार नै परिवर्तन भइरहेको छ । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचीन सभ्यता छ । चिनियाँहरूले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको इतिहासमा उल्लेख छ ।