भैरहवा । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भैरहवाको वृद्धाश्रममा सहयोग गरेको छ । सोमबार बैंकले ओमसतिया गाउँपालिका–४, बालापुरमा रहेको श्री सत्य साई बृद्ध सेवा आश्रममा अत्यावश्क सामाग्री सहयोग गरेको हो । बैंकको भैरहवा शाखा विजनेश प्रमुख नीना सापकोटाले आश्रमको तत्काल आवश्यकतालाई हेरेर किचनका भाँडाकुँडा, १७ वटा सिरक, दालचामल लगायतका सामाग्रीहरु आश्रमलाई सहयोग गरेको जानकारी दिइन् ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेलले विभिन्न क्षेत्रको सहयोगकै कारण आश्रम आज जीवन्त भएको बताए । उनले आश्रम संचालनमा थोरै भए पनि ईंटा थपौं भन्ने हेतुले बैंकले सहयोग गरेको जनाए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस किसिमका सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । यसका लागि बैंकले केन्द्रीय कार्यालयसँग पहल गर्ने पोखरेलले बताए । यसअघि पनि आश्रममा सहयोग गरिएको स्मरण गर्दै उनले मानसेवा आश्रम, विद्यालय लगायतका यस्ता किसिमका ठाउँहरुमा सहयोग गर्दै आएको जनाए ।
भैरहवा शाखा प्रबन्धक निशेस पोखरेलले बैंकले आश्रमलाई आवश्यक सामाग्री सहयोग गरेको जनाए । उनले आश्रममा सहयोग गर्न पाउँदा आफूहरु हर्षित बनेको बताए । आश्रमकी अध्यक्ष माया खरेलले बैंकका प्रतिनिधिहरु आएरै सोधेर आफूहरुको आग्रह अनुसार सहयोग गरेको जनाइन् । उनले आश्रम कुनै विदेशी लगानीबाट संचालन नभएको स्पष्ट पार्दै यस क्षेत्रकै सामाजिक तथा निजी संघसंस्थाको सहयोगबाट संचालन गरेको बताइन् । बृद्ध आश्रम भन्दा वित्तिकै धेरैको श्रद्धा हुने भएकाले संचालनमा त्यस्तो कठिनाई नभएको उनको भनाई छ । आश्रममा नेपालका विभिन्न जिल्लाका १७ जना बृद्धबृद्धाहरु बस्दै आएका छन् ।