काठमाडौँ । घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीलाई आज परेको झरीले झनै दुःख दिएको छ । अतिक्रमित बस्ती खाली गरिएपछि बाहिर राखिएका सुकुम्वासीका सरसामान तथा ओड्नेओछ्याउने लुगाकपडादेखि अन्य दैनिक उपभोगका सामग्री भिजाउँदा उनीहरू विचल्लीमा परेका हुन् । साँझ परेको वर्षाका कारण सुकुम्वासीले बाहिर खुला चौरमा राखेका खाद्यान्न, ओड्ने–ओछ्याउने लुगाकपडालगायत सरसामान सबै भिजाएको छ । बस्ती खाली गरिएपछि गैरीगाउँ–सिनामङ्गलमा बसोबास गर्ने अधिकांशलाई डेरा खोज्न कठिन भइरहेको छ भने कतिपयले सामान सुरक्षित राख्न ठाउँ नपाउँदा खुला आकाशमुनि छन् ।
अस्थायी रूपमा चौरमा सामान राख्दा वर्षाले उनीहरूका खाद्यान्न, ओड्ने–ओछ्याउने लुगाकपडालगायत भिजाएको स्थानीयवासी कमल अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धेरैजसो मानिसहरू पहिले नै अन्यत्र गइसकेका छन्, तर कतिपय यही नै बसेका कारण वर्षाले उनीहरूको खाद्यान्न, लुगा र सरसामान सबै भिजायो, अवस्था निकै दयनीय छ ।”
यहाँ बसेका कतिपय सुकुम्वासी सामान लगेर अन्त जानसक्ने हैसियतका नभएका र कतिपय काठमाडौँ बाहिरका भएकाले काठमाडौँमा अहिले डेरा नपाएका कारण सामान यही राखेर डेरा खोजेपछि केही दिनमा जाने तयारीमा रहेका उहाँको भनाइ छ । गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा रहेका सुकुम्वासीहरूका सरसामान शनिबारदेखि आज दिनभरि साना गाडीले ओसार्दा पनि अझै ओसार्न नसकिएको मिनीट्रक चालक दोलखाका किशोर तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कतिपय परिवारका सामान तीन–चार ट्रिपसम्म हुने गरेका छन्, त्यसैले सबै ओसार्न समय लागिरहेको छ । केहीले अझै डेरा नपाएकाले सामान यहीँ राखेर डेरा खोज्न गएका छन् ।” हाल भत्काइएको क्षेत्रमै अझै ठूलो परिमाणमा सुकुम्वासीका सामान थुप्रिएको देखिन्छ । ती सामान कुर्न बसेका व्यक्तिसमेत वर्षामा भिज्न बाध्य भएका छन् । पर्याप्त त्रिपाल, अस्थायी आश्रय वा सुरक्षित भण्डारणको व्यवस्था नहुँदा उनीहरू थप विचल्लीमा परेका छन् ।