जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम तथा आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। बिहीबार बिहानैदेखि प्रदर्शनकारी सक्रिय बनेपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले दिउँसो ३:३० बजेदेखि लागू हुने गरी सो आदेश जारी गर्नुभएको हो।
जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णय तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को आदेश जारी नभएसम्मका लागि कफ्यु लागू गरिएको प्रशासनले जनाएको छ। तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन, सभा वा घेराउ गर्न पाइने छैन। आदेशको उल्लङ्घन गर्नेमाथि प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
प्रशासनका अनुसार कर्फ्यु उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोक, पूर्वतर्फ एम.क्यु. स्टिल क्षेत्रदेखि राष्ट्रिय प्राथमिक विद्यालय, दक्षिणतर्फ नगराइन चोक तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्रमा लागू गरिएको छ। प्रशासनले शान्ति-सुरक्षा कायम राख्न सर्वसाधारण नागरिकलाई कर्फ्युको पूर्ण पालना गर्न आग्रह गरेको छ।