निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न अध्यक्ष ढकालको माग

Ujyalosandeshonline 11142+ समाचार ( )
२७ पौष २०८२, आइतबार

भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई पनि विद्यालयजस्तै ‘शान्ति क्षेत्र’ घोषणा गर्नुपर्ने माग गर्नुभएको छ । भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य संघको ६७औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले औद्योगिक प्रतिष्ठान तथा कलकारखानामा हड्ताल र तोडफोड निषेध गर्न सरकारलाई मस्यौदा बुझाइएको र मन्त्रिपरिषद्ले चाँडै यसबारे निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रप्रतिको नकारात्मक धारणा चिर्नुपर्ने बताउँदै, निजी क्षेत्र नहुँदाको अवस्था कल्पना गर्न आग्रह गर्नुभयो । साथै, बंगलादेशको उदाहरण दिँदै उहाँले सरकारी संरचनाको तुलनामा निजी क्षेत्रले संकटपछि छिटो पुनरागमन गर्न सक्ने दाबी गर्नुभयो ।

अध्यक्ष ढकालले नेपालमै पुँजी परिचालन गरी ठूला आयोजना सञ्चालन गर्न सकिने बताउँदै १० अर्बको लगानीमा कम्पनी स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि महासंघले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, महासंघको आसन्न ६०औं महाधिवेशनमा संस्थाको गरिमा कायम राख्न सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले राजनीतिक स्थायित्व र स्पष्ट औद्योगिक नीतिको अभावमा व्यवसायीहरूले समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । सो अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकाल, लुम्बिनी र बागमती प्रदेशका अध्यक्षहरू, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख लगायतले बोल्दै युवा पलायन रोक्नुपर्ने, विमानस्थल पूर्ण क्षमतामा चलाउनुपर्ने र निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा राख्नुभएको थियो । साधारण सभाका अवसरमा सञ्चारकर्मी पुनहरि बेलवासे, विभिन्न साहित्यकार, खेलाडी, विद्यार्थी तथा बढी निर्यात गर्ने उद्योगी–व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार