गुल्मी । श्रीकृष्ण जन्माष्टमी पर्वको भोलीपल्ट मंगलबार दिनभर गुल्मीको सदरमुकाम तम्घास उत्सवमय बन्यो ।बिशेषगरी हिन्दुधर्मअनुसार भगवान श्रीकृष्णको जन्म भएको भोली पल्ट रोपाईजात्रा लगायतका कार्यक्रम गरी मनाउने प्रचलन रहँदै आएको छ ।
सदरमुकाम तम्घासमा पनि बडो धुमधामका साथ यो जात्रा सम्पन्न गरिएको थियो । बिशेषगरी रेसुंगा नगरपालिका–१मा अवस्थित यस क्षेत्रकै ऐतिहासिक शक्तिपिठ तम्घासस्थान मन्दिर व्यवस्थापन समितिको आयोजनामा असार १५ को झल्को दिने गरी रोपाइँजात्रा निकालिएको थियो ।
विगत लामो समय देखि यहाँ श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट रोपाई जात्राका साथमा विभन्नि प्रहसन देखाउने गरिन्छ । बिहान श्रीकृष्णको रथयात्रासँगै दिनभर रोपाईजात्रा तथा लाखे नाँच लगायतका झाकी प्रर्दशन गरिएको छ ।
संयुक्त तम्घासस्थान मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालन गरिएको रथयात्रा तथा रोपाईजात्रामा दर्जनौं संघसंस्थाहरुको सहभागिता रहेको थियो । हजारौंको उपस्थितिमा स्थानीय संघसंस्थाहरुको सहभागितामा श्रीकृष्ण जन्माष्टमीलाई उल्लासमय रुपमा मनाइएको हो ।
यहाँका नेवार समुदायले प्रर्दशन गरेको लाखे नाँच, रेसुंगा माध्यमिक विद्यालयका विद्यार्थीहरुको पञ्चेबाजा सहितको प्रस्तुति तथा श्रीकृष्ण भगवानको लिलाहरुलाई प्रतिबिम्बन गर्ने प्रस्तुतिले दिनभर तम्घासबजार उल्लासमय बनेको थियो ।
तम्घास्थान मन्दिर नयाँबजारबाट सुरु भएको रथयात्रा तथा रोपाइजात्रा बजार परिक्रमा पछि चिदिचौर खेलमैदानमा लगेर देखाइएको थियो । रोपाइजात्रा हेर्न दर्शकहरुको खचाखच भिड देखिन्थ्यो ।
श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट यो विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । बिहान श्रीकृष्णको रथयात्रा गरिएको थियो । संयुत्त, तम्घासस्थान मन्दिर व्यवस्थापन समितिको आयोजनामा रथयात्रा तथा रोपाईजात्रा गरिएको हो । यस अवसरमा रेसुंगा नगरपालिकाले सार्वजनिक विदा समेत दिएको थियो ।
रेसुंगा नगरपालिका भित्रको सबै भन्दा ठुलो पर्वको रुपमा श्रीकृष्ण जन्माष्टमी पर्वलाई मनाइँदै आएको तम्घासस्थान मन्दिर व्यवस्थापन समितिका सचिव ताराप्रसाद भुसालले बताउनुभयो । सहसचिव विनोद पाण्डेले ऐतिहासिक रुपमा सञ्चालन हुँदै आएको रथयात्रा र रोपाईजात्रालाई यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । आगामी दिनमा सथानीय तहले सबैको सहभागिता उल्लेख्य रुपमा बढाउने गरी वातावरण सिर्जना गर्न सुझाव दिनुभयो ।
विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष तथा केन्द्रीय सदस्य सुरेशचन्द्र भुसालले वैधिक सनातन संस्कृतिको संरक्षणका लागि सबै जुट्नुपर्ने बताउनुभयो । उहाँले समाजमा रहेका विकृति, विषङ्गतिहरुलाई हटाउन यस्ता पर्वहरुले ठुलो महत्व राख्ने बताउनुभयो । रोपाईजात्रा सञ्चालन समितिका संयोजक निशेष श्रेष्ठले रेसुंगा नगरपालिकाको सम्पत्तिका रुपमा रहेको रोपाईजात्राको संरक्षण र युवाहरुमा यस्को ऐतिहासिकता उजागरका लागि यो कार्यक्रम गरिएको बताउनुभयो ।