लक्ष्य भेट्टाउने प्रयासमा भैरहवा ‘कर कार्यालय’

रासस 495+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

भैरहवा । आन्तरिक राजस्व कार्यालय भैरहवाले ७ अर्ब २८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा वार्षिक लक्ष्यको ९० दशमलव ०५ प्रतिशत राजस्व संकलन गरेको हो।राजस्व विभागले कार्यालयलाई ८ अर्ब ९ करोड १६ लाख रुपैयाँ असुलीको लक्ष्य दिएको थियो।

विगतका केही वर्षमा कार्यालयले राजस्व संकलनमा विभागले दिएको लक्ष्य पूरा गर्न असफल भएको राजस्व कार्यालय भैरहवाले सत प्रतिशत संकलन गर्न नसके पनि चालु वर्षको ८ महिनामा लक्ष्यको ९० प्रतिशतमाथि राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखेलले बताए ।

मासिक राजस्व संकलनको लक्ष्यसमेत पूरा गर्न नसकेको कार्यालयले चालु आवको ८ महिनामध्ये भदौ, असोज र फागुनमा राजस्व विभागद्वारा तोकिएअनुसारको राजस्व संकलन गरेको छ भने अन्य महिनामा पनि उल्लेखनीय रुपमा राजस्व संकलन गरेको पोखरेलले जानकारी दिए ।

कार्यालयले फागुनमा विभागले दिएको ९४ करोड ६ लाखको लक्ष्यमा ९४ करोड ६२ लाख संकलन गरेको छ। यो लक्ष्यको १०० दशमलव ६० प्रतिशत हो। गत आवको फागुन महिनामा संकलित राजस्वसँग तुलना गर्दा चालु आवको फागुनमा २० दशमलव ८० प्रतिशत अर्थात् १६ करोड २९ लाख रुपैयाँ बढी हो। कार्यालयले चालु आवको ८ महिनामा आयकरतर्फ १ अर्ब ३ करोड २१ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब २६ करोड २३ लाख, अन्तशुल्कबापत ४ अर्ब ८५ करोड ६७ लाख संकलन गरेको छ।

बजार अनुगमन, करको दायरामा नआएका र छुटेकाहरुलाई दायरामा ल्याउने, आमसर्वसाधारणमा कर शिक्षा प्रवाह, कर छल्नेलाई कारबाही, कर बक्यौता असुली लगायतका काममा समेत कार्यालयको टिम लाग्दा राजस्व संकलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोखरेलले बताए।‘अहिले सबैमा करबारे बुझाउनु पर्छ। करको दायरामा जानुपर्छ भन्ने भावना आम नागरिकमा देखिएकाले पनि सबैमा करको सचेतना बढ्दै गएकोले राजस्व संकलनमा सुधार भएको हो’,उनले भने ।

राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगर पालिकाको ५ देखि १७ सम्म, देवदह नगरपालिकाको १,२,३,४, ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई र सियारी गाउँपालिका रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार