काठमाडौँ । स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ । आफैँ शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब रु एक करोड ७८ लाख ४४ हजार बेरुजु रकम रहेकाले उक्त रकम उठाउने तायरी थालेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका बेथितिहरू क्रमशः हटाउँदै जाने क्रममा पाँच वर्षअघिको बेरुजु असुल गर्नेगरी काम सुरु गरिएको बताउनुभयो ।
उहाँले बढी भएको रकम असुली गर्ने कार्य सुरु भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको उल्लेख गर्नुभयो । “राजधानीसहित देशका विभिन्न भागमा सञ्चालित ११ वटा मेडिकल कलेजले स्वीकृति पाएभन्दा बढी शय्या थपेर अतिरिक्त आम्दानी गरिरहेका छन् । तर कर तथा दस्तुर भने स्वीकृत शय्या सङ्ख्या बराबरको मात्र बुझाउने गरेका छन्”, उहाँले भन्नुभयो ।
महालेखा परीक्षकको प्रतिवेदनले करिब पाँच वर्षअघि मेडिकल कलेजको यो प्रवृत्तिबारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुुल उपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो । सोही आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका शय्या सङ्ख्या बराबरको दस्तुरबापतको थप रकम बेरुजुका रूपमा सङ्कलन गरी सञ्चित कोषमा दाखिला गर्न लागेको जनाएको छ ।
स्वीकृतभन्दा बढी शय्या राखी कमाउने मेडिकल कलेजमा भरतपुरको चितवन मेडिकल कलेज, ललितपुरको मेडसिटी मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज तथा काठमाडौँको नेपाल मेडिकल कलेजले आर्थि वर्ष २०७६÷७७ देखि शय्या थप गरेकाले सोही समयदेखिको बेरुजु रकम असुल उपर गरिने मन्त्रीमेहताले जानकारी दिनुभयो ।