भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भैरहवामा पहिलो राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १० बुंदे निष्कर्ष सहितको सुझाव तयार पारि सम्बन्धित निकायहरुमा प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ ।
कार्यक्रमको संयोजक समेत रहनुभएकी नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी विकास समितिकी संयोजक कमला श्रेष्ठले सम्मेलनमा महिला उद्यमशीलता नीति र नतिजा, वित्तीय पहुंच, बजारको पहुँच, पर्यटन सम्भावना र चुनौति एवं स्टार्ट अपका सम्भावना लगायत मुख्य पाँच सत्रहरुमा छलफल भएको बताईन् ।
२ दिनको छलफलमा महिला उद्यमशीलताका लागि दिइदै आएको सहुलियतपूर्ण कर्जा रोकिएकोमा उक्त कर्जा पुन सुचारु गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लगायतका निकायको ध्यानकर्षण गराई कार्यान्वयन गर्न पहल गर्ने निष्कर्ष किालिएको छ । यस्तै सम्मेलनले महिला उद्यमशीलता लक्षित नीतिहरु कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको संजाल मार्फत तिनै तहका सरकारमा निरन्तर पैरवी निष्कर्ष निकालेको श्रेष्ठले बताईन ।
घरेलु, साना तथा मझौला उद्यमहरुको दर्ता र नविकरण धेरै निकायमा गर्नुपर्ने वाध्यता भएको सन्दर्भ एउटा निकायमा मात्रै दर्ता गर्न सक्ने व्यवस्था गर्न सबै सरकारको ध्यानाकर्षण गरि कार्यान्वयनको जोडदार माग गर्ने सम्मेलनको निष्कर्ष रहेको छ । यस्तै उद्यमी महिलाहरूलाई आफ्नो व्यवसायमा अझै सबल बनाउन महिला उद्यमशीलता विकास कार्यक्रमलाई सीप विकास एवं उद्यमशीलता प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरूमा थप सक्रियतापूर्वक आबद्ध निर्णय गरिएको उनले बताईन ।
“सम्मेलनमा ७ वटै प्रदेशका महिला उद्यमीहरु हौसिएको र सिधा संवाद हुन पायो,” श्रेष्ठले भनिन् “महासंघले आयोजना गरेको पहिलो कार्यक्रममै धेरै कुरा सिक्ने मौका पाएका छौं ।”
महिला उद्यमीका समस्या, गुनासो, चुनौतीको बिषयमा प्रत्यक्ष रुपमा बृहत छलफल गरि सम्मेलनको निष्कर्ष निकालिएको उनले बताईन । श्रेष्ठले महिला तथा पुरुषको ज्याला समान बनाउन पनि माग गरेको छ । अन्तराष्ट्रिय उदाहरण र देशमा विद्यमान नीतिगत तथा व्यवहारिक अवस्थाको आँकलन गरी महिला र पुरुषको ज्याला समान बनाउन उचित नीति नियम निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्ने र त्यसको लागि नीति निर्माता र व्यवसायीहरूसँग निरन्तर संवाद गर्ने सम्मेलनले निष्कर्ष निकालेको छ ।
महिला उद्यमीहरूका उत्पादन प्रवद्र्धन र बजार बिस्तारमा सघाउने उद्देश्य सहित बाहै्र महिना उपलब्ध हुने गरी तिनै तहमा प्रदर्शनी÷बिक्री स्थलको व्यवस्थाका लागि पहल गर्ने तथा उपलब्ध त्यस्ता स्थानहरूलाई सुधार गर्दै लैजान प्रोत्साहित गर्ने निष्कर्ष छ । महिला उद्यमीका लागि उपलब्ध सेवा–सुविधाहरूका बारेमा जानकारी दिन एकद्वार प्रणाली कायम गर्ने समेत सम्मेलनको निचोड रहेको छ ।
“सिद्धान्तमा माहिला उद्यमका कुराहरु धेरै भए पनि ब्यवहारमा छैन, सचेतना छैन” श्रेष्ठले भनिन् “महिला उद्यमीलाई धेरै कुराहरुको जानकारी छैन उहाहरु धेरै पछाडी हुनुहुन्छ ।”
महिला उद्यमीहरुहरुलाई अगाडी ल्याउन उनिहरुका लागि स्टार्टअप अनुदानको व्यवस्थाका लागि संघीय तथा प्रदेश सरकारहरूसँग माग गर्ने सम्मेलनको निष्कर्ष छ । निष्कर्षमा सबै प्रदेशमा स्टार्टअप इन्कुबेसन केन्द्र स्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्नुका साथै वित्तीय संस्थाहरूसँग पनि महिला उद्यमीहरूको लागि सहुलियतपूर्ण स्टार्टअप ऋणका लागि संवाद गर्ने समेत छ ।
नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गैरहेको सन्दर्भमा महिला उद्यशिलतामा पर्नसक्ने प्रभाव न्युनिकरणका लागि विशेष पहल आवश्यक भएको सम्मेलनका वक्ताहरुले जोड दिएका थिए । यसै सन्दर्भमा महिलाको उद्यमशीलता र रोजगारीमा पर्ने नकारात्मक प्रभाव कम गर्न अध्ययन अनुसन्धान, रणनीति तयार पार्नुका साथै विशेष कार्यक्रम घोषणा गर्न सरकारसंग पैरवी गर्ने सम्मेलनको निष्कर्ष रहेको छ । साथै दिगो विकास लक्ष्य हासिल गर्न महिलाहरुलाई समेटनु पर्ने बिषयमा सम्बन्धित निकायहरुमा पहल गर्ने निष्कर्ष समेत सम्मेलनको छ ।
लघु, घरेलु, साना एवं मझौला उद्यमका उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि महासंघले सरकारसँग निरन्तर पहल पैरवी गर्ने । बजारीकरणका लागि डिजिटल प्रविधिको थप प्रयोग गर्दै स्मार्ट उद्यमी बन्न महिलाहरूलाई विभिन्न कार्यक्रमका लागि पहल गर्ने निष्कर्ष सहित सम्मेलन शनिबार सम्पन्न भएको छ ।
“महिला उद्यमीहरुको सामुहिक आवाजलाई सम्बन्धित निकायमा पु¥याउने हामीले अठोठ गरेका छौं,” श्रेष्ठले भनिन् “यसबाट महिला उद्यमीहरु पनि उत्साहित भएको पाएका छौं ।”