भैरहवा । भैरहवाको गल्लामण्डीबाट ठूलो परिमाणमा चिनी र मटर (केराउ) बरामद भएको छ । भन्सार छलेर भित्राइएको आशंकामा भैरहवा भन्सार कार्यालयले भैरहवाको खाद्यन्न बजार गल्लामण्डीबाट चिनी र मटर (केराउ) बरामद गरेको हो ।
खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरुले साइकल/व्हील चेयरमा भन्सार छलेर थोरै–थोरै परिमाणमा चिनी, मटर लगायत समाग्री भित्राएर डम्प गर्ने गर्दछन् । परिमाण धेरै भएपछि नक्कली बिजक जारी गरेर गाडीमा मुलुकका विभिन्न स्थानमा पठाउने गर्दछन् । गल्लामण्डीको सुगरमिल क्षेत्र स्थित ट्रकमा लोड गरिरहेको अवस्थामा ५ लाख ७४ हजार रुपैयाँ बराबरको एक सय तीस बोरा (६५०० किलो) चिनी र ६८ बोरा (१७०० किलो) केराउ मटर बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । साथै, प्र२०३००१ ख ०७०५ नम्बर ट्रक समेत नियन्त्रणमा लिइएको र ट्रक चालक फरार भएको उनले बताए ।
‘बरामद समाग्रीको प्रज्ञापन पत्र÷बिजक फेला नपरेको अवस्थामा समाग्री र प्रयोग भएको ट्रक नियन्त्रणमा लिएका हौँ’, प्रमुख गौतमले भने, ‘समाग्री दावी गर्ने आउने फर्म/व्यक्तिसगँ आवश्यक कागज लिएर जाँचबुझ गर्छौँ । कानुन बमोजिम नपाइए कारवाही प्रक्रिया अगाडी बढाउँछौँ ।’
भैरहवा भन्सार कार्यालयमा प्रमुख गौतम आएपछि कार्यालयले अभियान नै चलाएर तिव्र रुपमा भन्सार छलेर भित्राइएका समाग्रीहरु नियन्त्रण लिइरहेको छ । भन्सार छलेर निर्यात गर्न लागिएको र आयात गरिएको अवस्थामा प्रयोग भएको गाडी तथा मानिससहित ठूलो परिमाणमा टुथपेस्ट, चामल, प्याज, लत्ताकपडा लगायतका समाग्रीहरु बरामद गर्ने क्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ ।