देवदह । देवदह साझेदारी वन उपभोक्ता समूह रुपन्देहीले भोटेकोशी बाढी तथा प्राकृतिक विपद् प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख २२ हजार ५ सय २५ जम्मा गरेको छ।कार्यसमितिको निर्णयअनुसार समूहको वन कोषबाट रु. १ लाख र कार्यसमिति पदाधिकारी तथा कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलित रु. २२ हजार ५ सय २५ गरी सो रकम कोषमा जम्मा गरिएको हो।
विपद्का कारण ठूलो क्षति बेहोरेका नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको समूहले जनाएको छ। साथै, विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग अभियानमा सहभागी हुन समूहले अन्य संघसंस्था तथा समुदायलाई समेत आग्रह गरेको छ।