पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले चैत्र महिनाको आफ्नो मासिक प्रगति विवरण सार्वजनिक गर्दै जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त भएको जनाएको छ। प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पंजियार थारुले कार्यभार सम्हालेपछि जिल्लामा प्रहरी सक्रियता बढेको महसुस गरिएकै समयमा प्रहरीले अपराध अनुसन्धान, फैसला कार्यान्वयन र राजस्व संकलनमा सुधारोन्मुख नतिजा निकालेको हो।
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैत्र महिनामा मात्रै विभिन्न प्रकृतिका २७ वटा मुद्दा दर्ता भएका छन्। जसमा जबरजस्ती करणी, लागूऔषध, चोरी, बैंकिङ कसूर र सवारी ज्यान लगायतका शीर्षकहरू रहेका छन्। यी मुद्दाहरूमा संलग्न १८ पुरुष र १ महिला गरी कुल १९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। यसैगरी, लामो समयदेखि फरार रहेका ४ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनको दिशामा पनि प्रहरीले सक्रियता देखाएको छ, जसबाट ५ वर्ष ६ महिना २७ दिनको कैद सजाय र १ लाख ७६ हजार ५ सय रुपैयाँ जरिवाना असुल भएको छ।
सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा पनि प्रहरीको सक्रियता देखिएको छ। चैत्र महिनामा जिल्लाका विभिन्न स्थानमा भएका ३४ वटा सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् भने ३२ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने ३६१ वटा सवारी साधनलाई कारबाही गर्दा ३ लाख ६९ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीको तथ्याङ्क छ। यसका अतिरिक्त भन्सार छली र अवैध प्राकृतिक स्रोत दोहन नियन्त्रणबाट थप १ लाख ५४ हजार ४ सय ९३ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो।
जिल्लामा सामाजिक अपराध र घरेलु हिंसाका घटनाहरू पनि चुनौतीका रूपमा देखिएका छन्। समीक्षा अवधिमा ८ जनाले आत्महत्या गरेको दुःखद तथ्याङ्क प्रहरीसँग छ। यस्तै, घरेलु हिंसाका ४ वटा उजुरीमध्ये २ वटामा मिलापत्र गराइएको छ भने हराएका ६ जनामध्ये ४ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ। अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ५०४ लिटर मदिरा बरामद गरी नष्ट गरेको छ भने प्राकृतिक सम्पदा दोहन गर्ने ३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर १ लाख रुपैयाँ जरिवाना तिराएको छ।
अपराध नियन्त्रणका लागि जनचेतना नै मुख्य कडी रहेको भन्दै प्रहरीले 'समुदाय-प्रहरी साझेदारी' अन्तर्गत ३२ वटा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। यी कार्यक्रमहरूबाट महिला हिंसा, बाल विवाह, साइबर अपराध र लागूऔषध दुर्व्यसनी विरुद्ध ९०० भन्दा बढी स्थानीय र विद्यार्थीहरू लाभान्वित भएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार एसपी दिपेन्द्र पंजियार थारु आफैँ फिल्डमा खटिएर जनताका समस्या सुन्ने र जनचेतनामूलक कार्यक्रममा सहभागी हुने गरेका कारण प्रहरी र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनेको छ। नागरिक सहायता कक्षमा दर्ता भएको १२८५ जना सेवाग्राहीको उपस्थितिले पनि प्रहरी कार्यालयप्रति जनताको विश्वास बढ्दै गएको पुष्टि गर्दछ। प्रहरीले आगामी दिनमा सिमान्तकृत र पिछडिएका वर्गलाई लक्षित गरी थप कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत बनाएको छ।