सुर्खेत । हुम्लाका स्थानीय तहहरूले बस्तीस्तरबाट योजना छनोट प्रक्रिया सुरु गरेका छन् । आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक बजेट बनाउन स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउने गरी स्थानीय तहले काम गरिरहेका छन् ।
आगामी आर्थिक बर्षको योजना छनोटका लागि हुम्लाका खार्पुनाथ, सिमिकोट र ताजाकोट गाउँपालिकाले बस्तीतहबाटै योजना छनोटको प्रक्रिया सुरु गरेका हुन् । पालिकाका सबै वडामा बजेटको न्यायोचित वितरण र स्थानीयको मागमा आधारित योजना बनाउन बस्ती तहको आवश्यकता पहिचानमा पालिकाहरु लागेको ताजाकोट गाउँपालिका अध्यक्ष लालकेस जैसीले बताए ।
ताजाकोट गाउँपालिकाले हरेक वडाका टोल टोलमा पुगेर योजना छनोट गर्न थालेको अध्यक्ष जैसीले बताए । ‘बस्तीको आवश्यकता अनुसार योजना बनाउन टोल टोलमा योजना तर्जुम ागर्न थालिएको हो’ उनले भने, ‘यसरी योजना छनोट गर्दा मागमा आधारित योजनाहरु प्राथमिकतामा पर्ने र कार्यान्वयनका लागि पनि सहज हुन्छ ।’ गत वर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, स्थानीय बासिन्दाले दिएका सुझावका आधारमा कार्ययोजना तयार पारिएको उनले बताए ।
खार्पुनाथ गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले बस्ती तहको योजना निर्माण का लागि वडाहरुलाई जनसंख्या, क्षेत्रफल, पुर्वाधार विकासको अवस्था, वडामा राजश्व संकलनको अवस्था र जनसहभागिताजस्ता सुचकहरुलाई आधार मानेर बजेट सिलिङ पठाइएको बताए ।
‘बस्तीस्तरमा योजना छनोट गर्दा स्थानीयको उल्लेख्य सहभागिता रहेको छ’ उनले भने, ‘बस्तीबाट आएका दर्जनौ योजनाहरुको प्राथमिकीकरण पनि बस्तीबाटै भएकोले योजना तर्जुमामा पनि सहज हुने छ ।’ बस्ती तहको योजना तर्जुमाले सबै वडामा समान बजेट भन्दा पनि त्यहाँको आवश्यकता अनुसार योजना निर्माणमा सहयोग पुग्ने उनले बताए ।
बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिने गरी योजना तर्जुमा गरिने उनको भनाई छ । स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले पनि बढी प्रभावकारी हुने उनको भनाइ छ ।
स्थानीय आवश्यकतामा बजेट बनाउन माग
सिमकोट गाँउपालिका वडा नं २ को ठेह वस्तीका जेष्ठ नागरिक कर्णबहादुर वोहराले गाउँमा बृद्धाश्रम केन्द्र बनाउनु पर्ने माग गरे । बस्तीस्तरको योजना तर्जुमामा आएका उनले बुढाबुढीका लागि बृद्धाश्रम बनाउनु पर्नेमा जोड दिए ।
‘सबैले आफ्ना माग राखिहाल्यौं’ उनले भने, ‘अब हामी गाउँका बुढाबुढीहरुका लागि बस्ने ठाउँ पनि त बनाउनुपर्यो ।’ बुढाबुढी अन्त कतै जान पनि नसक्ने र जाने ठाउँ पनि नभएकाले सबै भेला भएर सुख दुःखका कुरा गर्न बृद्धाश्रम केन्द्र आवश्यक भएको उनको भनाइ छ ।
सिमकोट गाँउपालिका वडा नं ३ को भेलामा सहभागी देउकली सुनारले दलित बस्तीमा एक घर एक चर्पीको योजना बनाउन माग गरिन् । उनले महिलालाई स्वरोजगार बनाउन सीप मुलक तालिमका कार्यक्रम ल्याउन पनि माग गरिन् ।
सिमकोट ३ को लिमाटाङको लामाबस्तीमा भएको योजना छनोटमा पान्मा दार्जे लामाले छ्युमाचाँ तटवन्धन निर्माण र होमस्टे व्यवस्थापनका लागि पालिकाले बजेट छुट्याउन माग गरे । खार्पुनाथ गाँउपालिका वडा नं ५ को दलित वस्ती याङचुमा आयोजना भएको बस्तीस्तरको भेलामा स्थानीयहरुले याङचु वस्ती पहिरो नियन्त्रण, रातोमुल सिचाई आयोजनादेखी टुलिङ खानेपानी योजनाको माग गरे ।
ताँजाकोट गाउँपालिकोको दलित टोल चौतारी बस्तीमा भएको बस्तीस्तरको भेलामा सवै दलित समुदायको सहभागिता थियो । समुदायबाट २१ वटा आयोजनाको माग भएपनि बस्तरीस्तरमै प्राथमिकीकरण गरिएपछि उक्त बस्तीमा एक घर एक धाराको योजना जरुरी भएको निश्कर्ष निकालियो ।यसरी स्थानीयको सहभागितामा स्थानीय आवश्यकताअनुसारका योजनाहरु गाउँपालिकाका लागि प्राथमिकीकरणले स्थानीयको सहभागिता पनि देखिएको छ ।
स्थानीय पुर्वाधार सहयोग कार्यक्रमको प्राविधिक सहयोगमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरुलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी, दिगो र प्रभावकारी कार्यान्वयनका लागी क्षमता विकास र फिल्डस्तरमा समावेशी योजना तर्जुमाका लागी प्राविधिक सहायता प्रदान भएको छ । हुम्लाका सिमकोट, खार्पुनाथ र ताजाकोट गाँउपालिकामा बस्तीमा समावेशी योजनाका लागी भेलाहरु सम्पन्न गरिएका छन् ।
वडा कार्यालयले वडा सदस्यहरुको संयोजकत्वमा बस्तीमा योजना छनौटका लागी योजना बनाएका छन् । वस्तीस्तरको भेलामा विभिन्न वर्ग, समुदाय, महिला, दलित, जनजाती, अपाङ्गता भएका व्यक्ति, वाल क्लवहरु तथा युवा क्लवहरुको सहभागीतामा योजना छनोट गरिएका छन् । वस्तीस्तरबाट आएका योजनाहरुको प्राथमिकीकरणका लागि पनि स्थानीयहरुलाई नै सहभागी गराइएको छ ।
आयोजना बैकको स्थापना
हुम्ला जिल्लाका सिमकोट, खार्पुनाथ र ताँजाकोट गाँउपालिकाले बस्तीस्तरबाट आएका योजनाहरु वडा कार्यालय र विषगत समितिमा प्राथमिकीरणम गरी आएको आयोजनाहरुलाई स्थानीय तहको स्रोत अनुसार कार्यान्वयन गर्ने र अन्य आयोजनाहरुलाई स्थानीय तहको आयोजना बैकमा समावेश गर्ने गरी योजना बनाएका छन् ।
विगतका वर्षहरुमा वडावाट योजना छनोट गरिए पनि कहिलेकांही स्थानीय आवश्यकता पहिचान नहुँदा समस्या हुने गरेको सिमकोट गाँउपालिका अध्यक्ष विजय भण्डारीले बताए । ‘बस्तीस्तरबाट योजना आउँदा स्थानीय माग सम्बोधन भएको छ भने आवश्यकताहरु पहिचानमा सहज भएको छ’ उनले भने, ‘स्थानीय तहको स्रोतले भ्याएसम्म कार्यान्वयनमा आँउने र अन्य योजनाहरुको लेखाजोखा नहुने भएपछि योजना बैंकको अवधारणा बनाइएको हो ।’
गाउँपालिकाले बस्ती, वडा र विषयत समितिहरुवाट प्राथमिकीकरण भई आएका आयोजनाहरुलाई आयोजना बैकमा राखिने उनले बताए । प्राथमिकताका आधारमा प्रदेश, संघ र अन्य साझेदार निकायहरुसंग समन्वय गरी आयोजना कार्यान्वयनमा ल्याईने उनको भनाई छ । नेपाल सरकारले स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ जारी गरेको छ र सोही अनुसार स्थानीय तहको समावेशी योजना तर्जुमा, समावेशी विकासको अवधारण सहित मार्गदर्शन गरको थियो ।