जनकपुर । जनता समाजवादी पार्टी (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले उत्पीडित वर्गको उत्थान जरुरी भएको बताउनुभएको छ । उहाँले भ्रष्टाचार, सुशासन, आर्थिक विकास र र संविधान संशोधनका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जनकपुरधाममा आज अग्रगामी मोर्चा मधेस प्रदेश समन्वय समितिले आयोजना गरेको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सङ्घीयता, समावेशिता, सामाजिक न्याय र सुशासनलाई थप संस्थागत गर्न आवश्यक भएको बताउनुभयो ।
संविधान संशोधन अहिलेको सबैभन्दा ठूलो मुद्दा भएको उहाँको भनाइ थियो । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले जनताको अपेक्षा र वर्तमान राजनीतिक परिवर्तनलाई सम्बोधन गर्न पुरानो राजनीतिक कार्यशैलीभन्दा फरक ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले युवापुस्तालाई राजनीतिमा प्रभावकारी भूमिका दिनुपर्नेमा जोड दिनुभयो ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जनताको अधिकार, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई प्रभावकारी बनाउन राजनीतिक शक्तिहरूबीच साझा मोर्चा तथा सहकार्य आवश्यक भएको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसी, आदिवासी, जनजाति, दलित र थारूसहित उत्पीडित, सीमान्तकृत तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न राजनीतिक एकता र सङ्घर्षलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमुख जनार्दन शर्माले अहिले मुलुकलाई अग्रगामी दिशामा अघि बढाउन लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर राजनीतिक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । नेपाल सङ्घीय समाजवादी पार्टीका प्रमुख रिजवान अन्सारीले सङ्घीयताको प्रभावकारी कार्यान्वयन र प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन राजनीतिक दलहरूबीच साझा दृष्टिकोण आवश्यक रहेको बताउनुभयो । बहुजन एकता पार्टीका प्रमुख डा हरिनन्दनकुमार रञ्जनले बहुजन समुदायको राजनीतिक प्रतिनिधित्व, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न अग्रगामी शक्तिहरूले साझा एजेन्डा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।