भैरहवा । रुपन्देही प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि र चोरी तस्करी नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गरेको छ। भदौ ८ गतेदेखि ११ गतेसम्म चलाइएको विशेष चेकजाँच अभियानका क्रममा प्रहरीले करिब २४ लाख ७३ हजार ७ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार, बरामद गरिएका सामानहरूमा विभिन्न प्रकारका उपभोग्य वस्तु, कपडा, जुत्ता, कृषिजन्य उत्पादन र केही सवारी साधनहरू समेत रहेका छन्। यी सामानहरू थप आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।
अभियानका क्रममा जिल्लाका विभिन्न स्थानबाट अवैध सुर्ती, चिनी, दाल, जुत्ता, बिस्कुट, माछा, बोइलर कुखुरा, कुर्थासुरवाल, वास्तु पिरामिड, चश्मा, नोटिस्टार, बाख्रा, टायल, लेडिज सुट लगायतका सामग्री नियन्त्रणमा लिइएको छ। यसैगरी, ११ वटा मोटरसाइकल पनि बरामद गरिएको छ। सो क्रममा अवैध गतिविधिमा संलग्न तीन जना व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा यो अभियान निरन्तर चलिरहेको छ। एसपी क्षेत्री रुपन्देहीमा सरुवा भएर आएदेखि नै सीमामा हुने अपराध र चोरी तस्करी नियन्त्रणमा कडा रूपमा प्रस्तुत हुँदै आएका छन्। उनको सक्रियताले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न, अवैध चोरी तस्करीमा कमी ल्याउन र लागुऔषध नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पुगेको छ । प्रहरीको यस विशेष अभियानले जिल्लामा अवैध कारोबार निरुत्साहित गर्न र सुशासन कायम गर्न ठूलो मद्दत पुगेको स्थानीयले बताएका छन् ।