गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

Ujyalosandeshonline 11543+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले बिहीबार भैरहवामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएको छ।

विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति तथा सहजीकरण (कर छुट, सेवा शुल्क छुट) गरिनुपर्ने र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरुको समाधान गरिनुपर्ने संगठनको माग छ ।

त्यस्तै गौतमबुद्ध विमानस्थललाई दोस्रो मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वारको रुपमा विकास गर्ने राष्ट्रिय नीति तथा रणनीतिमा उच्च प्राथमिकता दिनुपर्ने, लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई जोड्दै विशेष पर्यटक प्याकेज विकास गरी विमानस्थलमा चाप बढाउने पहल गर्नुपर्ने, विमानस्थलमा व्यापार र निर्यात प्रवद्र्धनका लागि एयर कार्गो सेवा विस्तार गर्नुपर्ने तथा स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरी विमानस्थलको दिगो सञ्चालनको सुनिश्चितता गर्नुपर्ने संगठनले माग गरेको छ।

यस्तै अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी विमानस्थलको पहिचान प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने यात्रुहरुको लागि वन–स्टप सेवा केन्द्र (श्रम स्वीकृति, मेडिकल जाँच, ओभरसिज इम्प्लोइमेन्ट इजाजत, बीमा, इम्बार्केशन, काउन्सेलिङ आदि एकै स्थानबाट उपलब्ध हुने) स्थापना गर्नुपर्ने, वैदेशिक रोजगार विभागको क्षेत्रीय कार्यालय स्थापना गर्नुपर्ने र विमानस्थलमा श्रमिक सहायता काउण्टर स्थापना गर्नुपर्ने ज्ञापनमा उल्लेख छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले लुम्बिनी प्रदेश मात्र नभइ सम्पूर्ण देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए। ‘विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा समेत यसको नियमितता हुन सकेको छैन’,उनले भने, ‘कहिले चल्ने र कहिले बन्द हुने अनिश्चित अवस्थाले उद्योगी, व्यवसायी, पर्यटक तथा सर्वसाधारणमा निराशा बढेको छ।’ज्ञापनपत्र बुझाउने कार्यक्रममा संगठनका अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ र वाणिज्य उपाध्यक्ष राम मिलन यादवको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार