गाउँलाई सुरक्षित राख्न बिभिन्न थानहरुमा “कडाही पूजा”

Ujyalosandeshonline 11144+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

भैरहवा । तराईका जिल्लाहरुमा गाउँलाई राक्षसी शक्तिहरुबाट जोगाउन गाउँ बाहिर कालीमाई, समयमाई, कोटहीमाई, कारणमाई लगायत विभिन्न नामले विशेषतः हात्तीको प्रतिमा बनाई पूजा गर्ने चलन रहेको छ । 

तराईवासीहरुले यस्ता स्थानहरुलाई “थान” भन्ने चलन छ । यी थानहरुमा वर्षमा कम्तीमा एक पटक “कडाही चढाउने” पराम्परा रहि आएको छ । गाउँका सम्पूर्ण महिलाहरु थानमा जम्मा भई माटो अथवा इट्टाले तयार गरिएको चुल्होमा पुडी र गहुँकै पिठोबाट बनाईको लप्सी नामको परिकार बनाई यी थानहरुमा अर्पण गर्ने पराम्परा रहेको छ । 

विहान कडाही चढाएर त्यसैमा बनाइएको पुडी र लप्सीलाई प्रसादको रुपमा गाउँमा रहेको मन्दिर तथा अन्य पूजा गर्ने ठाउमा अर्पण गरे पछि घरपरिवार र छरछिमेकमा त्यसैलाई प्रसादको रुपमा वितरण गर्ने चलन छ । 

यसले देवी देवता प्रसन्न भई गाउँको रक्षा गर्ने, बालबालिका लगायत चौपाया तथा पशुपंक्षीहरुलाई रोगब्याधीबाट जोगाउने मान्यता रहेको छ । कडाही चढाएकै दिन साँझ “बहिबराउन” गर्ने गरेका छन् । यसमा गाउँभरिका चौपायाहरुलाई एकै स्थानमा जम्मा गरि उनिहरुको पूजा गर्ने, मिठो खान दिने र धामीबाट उनिहरुको उपचार गर्ने गरिएको छ । 

यहि पराम्परा अनुसार नै शनिबार ओमसतिया गाउँपालिका वडा नम्बर ३ हाटी फर्साटिकरका गाउँलेहरु मिलि समयमाई थानमा कडाही चढाएका छन् । “सबै गाउँलेहरु मिलि जेठ महिनाको अजोर पाखमा कडाही चढाउने गरेका छौं, निश्चित यहि दिन भन्ने नै हुदैन, सबैको सल्लाहमा गर्ने गरेका छौं ।” स्थानिय कुमारी धवलले बताइन “गाउँलेहरु सबै मिलेर धार, पूजा र कडाही चढाउने गरेका छौं, साँझ बहिबराउन हुन्छ ।”

देवी देवताहरुलाई कडाही चढाए पछि मात्र खेतीपाती गर्न सुरु हुन्छ । देवी देवतालाई एकजुट भएर प्रसन्न पारेर खेती सुरु भए गाउँमा कुनै प्रकारको संकट नआउने तथा महामारी लगायतबाट जोगाउने मान्यता रहेको फसांटिकरकै शिवमंगल यादव बताउछन् । धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ कडाही चढाईन्छ । यस पुजाले सबै समुदायमा एकता ल्याउनुका साथै मेलमिलाप, सामाजिक सद्भाव कायम राख्न वातावरण सहज हुने गर्छ । परम्परागत पूजाले धान उत्पादनमा वुद्धि हुने समुदायको विश्वास रहि आएको छ । धानमा किरा लाग्नबाट बचाउन र उत्पादनमा वृद्धि हुने विश्वासले पनि पूजा गर्ने गरिन्छ ।

स्थानिय वृद्धहरु यो पूजा बाबु बाजे देखि नै भईरहेको बताउदै त्यसैको निरन्तरता दिनलाई पनि कडाही पूजा गर्ने गरेको बताउछन् । स्थानिय प्रताप नारायण थारुले भने “यो कहिले देखि सुरु भयो मलाई पनि थाहा छैन, म सानो हुदा पनि यसै गरि पूजा हुन्थ्यो । हामीले देवतालाई खुशी पार्न र बाबु बाजेको पराम्परा धान्नलाई पनि पूजा गर्ने गरेका छौं ।”

अन्य पूजाहरु विस्तारै लोप हुदै गइरहेको अवश्थामा यसलाई जोगाउनलाई भए पनि गाउँका बुढापाकाहरुको अगुवामा पूजा हुदै आएको छ । पूजामा तराईमा बस्ने मधेशी, थारु र कतिपय स्थानहरुमा पहाडी समुदायका महिलाहरु पनि सहभागी भएका हुन्छन् ।



प्रतिक्रिया

सम्बन्धित समाचार