भैरहवा । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकार निजि क्षेत्र संग मिलेर साथीको रुपमा काम गर्न चाहेको बताएका छन । शुक्रबार भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग बाणिज्य संघको ६६ औं वार्षिक साधारण सभाको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले निजि क्षेत्र कमजोर भए सरकार बलियो हुन नसक्ने तर्क गर्दै सबै मिलेर मुलुक निर्माणमा अगाडी बढ्नुपर्ने जिकिर गरे ।
रुपन्देहीमा देखिएको ट्रंक लाई र डेडिकेटेड फिडर लाईनको समस्याको बारेमा बोल्दै मन्त्री खड्काले प्रयोग गरेको बिजुलीको बिल उद्योगीले तिर्ने दायित्व रहेको तर झुठा विवरणकै आधारमा उद्योगीलाई बिल तिर्न लगाउनु अत्याचार भएको टिप्पणी गरे । “सरकारको जिम्मेवार निकायमा बस्ने, झुठा विवरणहरु पेश गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई किमार्थ स्विकार्य हुदैन ।” उनले भने “मलाई थाहा छ डेडिकेटेडको नाममा जसले त्यो प्रयोग नै गरेको छैन, उपभोग नै गरेको छैन उसलाई महशुल मात्र हैन हर्जाना समेत तिर्नु पर्छ भनेर बिल पठाईएको छ ।”
उनले रुपन्देहीकै २२ वटा उद्योगहरु त्यो समस्यामा परिरहेको आफुलाई जानकारी भएको बताए । उनले प्रयोग गरेको बिद्युत यकिन गरि उद्योगीहरुले बिल तिर्नुपर्ने बताउदै डेडिकेटेड लाईन नजिकैबाट गएको आधारमा मात्र बिल तिर्न लगाउनु अत्याचार र अन्याय भएको र यसको समाधान सरकारले गर्ने आश्वासन दिए ।
मन्त्री खड्काले हिउदमा अझै पनि माग भएको १ हजार मेगावाट बिजुली खरिद गरिरहेको अवश्था भएको बताउदै उनले अब ठूला आयोजनाहरुलाई अगाडी बढाउने, बिद्युत सुरक्षालाई ध्यान दिने, आन्तरिक रुपमा खपत बढाएर आम्दानीको श्रोत बढाइने योजना रहेको जानकारी दिए । “सरकारले निर्णय गरेको छ, १० वर्षमा साढे १३ हजार मेगावाट बिजुली आमी आन्तरिक खपत गर्दैछौं ।” उनले भने “संगसंगै हामीसंग बढी भएको बिद्युत भारत र बांग्लादेशलाई बेच्ने । यसरी हामीले आयात गरिरहेको कुरालाई निर्यातमा परिणत गरेर मुलुकलाई समृद्ध बनाउने, १० बर्षमा साढे २८ हजार मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।”
उनले सस्तो लोकप्रियताको लागि भिड जम्मा गरेर आफ्ने र मुलुकलाई बर्बाद नगर्न समेत आग्रह गरे । कसैको नाम नलिई उनले मुलुकलाई बर्बाद नगर्न समेत आग्रह गर्नुभयो । कसैको नाम नलिई उनले भने “अनावश्यक कुरा गरेर सस्तो लोप्रियताका लागि कुकार्य तिर लाग्नु हुदैन, त्यस्तो भए तपाई हामी सबै मिलेर यसलाई निरुत्साहित गर्नुपर्छ । आज त्यो काहि कतै देखिरहेको छ, पढ्न पाईएको छ, त्यो दुस्प्रयास सुरु भएको अनूभुति भएको छ ।”
मन्त्री खड्काले हिजो मात्र पास भएको बिधेयकले निजि क्षेत्रलाई उत्साहित गर्ने, छिटो छरितो काम गर्ने वातावरण निर्माण गर्ने दावी गरे । निजि क्षेत्र संग साझेदारी गरेर अर्थतन्त्र बलियो बनाउने, सुशासन कायम गर्ने र समृद्धि प्राप्त गर्ने सरकारको पहिलो लक्ष्य रहेको र त्यहि लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको भनाई छ ।
त्यस अघि सिद्धार्थ उद्योग बाणिज्य संघको उद्घाटन साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले रुपन्देहीका उद्योगी व्यवसायीका समस्यामा उर्जा मन्त्रालय गम्भिर भई दिन आग्रह गरेका थिए । उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले आयात र निर्यात दुबैमा समस्या रहेको बताउदै निजि क्षेत्रलाई काम गर्ने वातावरण बनाईदिन आग्रह गरे ।“अहिले बजारलाई चलायमान कसरी गर्ने कुरा सरकारलाई पनि सोचनिय कुरा हो, निजि क्षेत्रलाई पनि हो ।” उनले भने “भारतलाई ९ रुपैया प्रति युनिट बिजुली दिनुहुन्छ भने यहाँका उद्योगीलाई ८ रुपैयामा दिनुस न, यहा देखिएको ट्रंकलाई र डेडिकेटेड लाईनको विवाद पनि अहिले समाधान गरिदिनुहुनेछ भन्ने आशा पलाएको छ ।”
यसै गरि नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य राजेश कुमार अग्रवालले पूंजिगत खर्च बढाउन सुझाव दिए । उनले बजार चलायमान बनाउन घर जग्गाको कारोबार चलायमान बनाउन आवश्यक रहेको बताउदै घर जग्गाको व्यवसाय उकासिए सबै व्यवसाय राम्रो हुने जिकिर गरे ।
लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले लुम्बिनी प्रदेशमा लुम्बिनी लगायत धेरै पर्यटकिय केन्द्रहरु रहेको कारण केन्द्र सरकारले यसमा लगानी बढाउन आवश्यक रहेको जिकिर गरे । यस संगै भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि काठमाण्डौं मात्र नेपाल रहेको मासिकता त्याग गर्न आग्रह गरे ।
सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले उद्योगलाई चलायमान बनाउन देशमा उत्पादन हुने बिजुली स्वदेशमा खर्च गर्नुपर्ने र बचेको मात्र अन्यत्र बेच्नुपर्ने धारणा राखे । “जुन देशमा बिद्युतको शक्ति हुन्छ त्यो संसारकै धनि देश मानिन्छ, यहा उत्पादित बिद्युतलाई बिदेशमा बेच्नु भन्दा पहिला आफ्ना जनतालाई दिनुहोस ।” खाँनले भने “यसो गरे तपाई नेपालको उत्कृष्ट मन्त्रीको रुपमा स्थापित हुनुहुनेछ ।”
यस क्षेत्रकै सबै भन्दा पुरानो सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको शनिबार हुने अधिवेशनको लागि अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितका अनुसार अध्यक्षमा नेत्रप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दीलिपकुमार कान्दु, कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल र उद्योग उपाध्यक्षमा गोविन्दप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । यस्तै, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
संघको बाणिज्य उपाध्यक्षमा भने एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा यमकला न्यौपाने, दीपककुमार पौडेल र हरिबहादुर थापा प्रतिस्पर्धा गर्दै छन् । यस्तै, सह–कोषाध्यक्षमा संजयकुमार बेरिवाल र पल्लवी न्यौपानेले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार १ जना बाणिज्य महिला सदस्यमा सुनयना केसी गिरी र मीना पन्थीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, १० जना वाणिज्य सदस्यका लागि १९ जनाको उम्मेदवारी परेको छ भने पाँचजना उद्योग सदस्यका लागि ९ जनाको उम्मेदवारी दर्ता भएको छ । संघका २ हजार १ सय १२ साधारण सदस्यहरु छन् ।