अर्घाखाँची । अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा आगामी पुस २७ गतेदेखि माघ ११ गतेसम्म सन्धिखर्क नगरपालिका –१, कुँडुले फाँटमा 'सातौं अर्घाखाँची महोत्सव' आयोजना हुने भएको छ। कृषि, पर्यटन र संस्कृतिलाई मुख्य प्राथमिकतामा राखिएको यस महोत्सवमा करिब ३५० वटा स्टल रहनेछन् । चेम्बरका सचिव प्रेम थापाका अनुसार स्थानीय कृषि उत्पादनको प्रवर्द्धनका लागि कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ।
चेम्बरका अध्यक्ष अशोककुमार श्रेष्ठले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन र जिल्लाको पहिचान स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। महोत्सवमा स्थानीय हस्तकला, पर्यटन प्रवर्द्धनका सामग्री र विविध सांस्कृतिक कार्यक्रमहरू समेत समावेश गरिने आयोजकले जनाएको छ ।